अर्थ / बाणिज्य

साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

इकागज |
चैत १७, २०७९ शुक्रबार १४:९ बजे

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर  तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन् । 

‘यो क्षेत्रको  नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ  मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने । 


हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरी यथावत् स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशील विषय बनेको पनि बताएका छन् । 

‘देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरू  जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन । नयाँ नेतृव चयनका लागि  सहमतिको प्रयास गर्दै गर्दा सहमति हुन नसक्नु दु:ख लाग्दो विषय हो,।’ 

श्रेष्ठले भने, ‘सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा मेरो लागि पदभन्दा पनि  वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ । तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समुहको नेतृव पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफूलाई उभ्याउने  प्रयास गरेको छु ।”

सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरूसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । 

देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रुपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यहरूलाई मजबुत रुपमा संगठितगरी नयाँ जोश र सक्रियता तर्फ लम्काउन जरुरी रहेको बताए । 

सबै सदस्यहरूले पाउने सेवाहरू सूचारु रुपले प्रदान गर्न, सबै वर्गका सदस्यहरूले महासंघले आफूहरू प्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफुले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । 

जिल्ला, नगर उद्योग वाणिज्य संघहरूको भूमिकालाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका उनले हरेक जिल्ला तथा नगरका उद्योगी व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले महासंघमा यथास्थानमा उम्मेदवारी दिएको उनको भनाई छ । 

‘विगत छ सात वर्षदेखि जिल्ला तथा नगरसँग प्रत्यक्ष रुपमा संलग्न हुने अवसर पाएँ । जिल्ला नगरका साथीहरूले परिपक्क निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो,’ श्रेष्ठले भने, ‘जिल्ला नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई सिमित सेवा दिन सकिरहेको अवस्था छ । त्यहाँका साना ठूला समस्याहरू सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरूको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ ।’

जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्यासी श्रेष्ठले महासंघमा आफुले धेरै काम गर्न बाँकी रहेको बताए । 

कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिस देखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरूले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन् । 

पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको व्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको बताए । 

व्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाइरहेको बताएका उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

‘लगानी योग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरूको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै  गएको छ,’ श्रेष्ठले भने, ‘यस्तो विषम परिस्थितिको सामना गर्दै आगामी  दिनहरूमा निजी क्षेत्रको आशाको केन्द्रविन्दुको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउन झनै सक्षम, सवल र सशक्त क्षमतावान नेतृत्व र समुहको आवश्यकता पर्ने देखिन्छ ।’

महासंघ व्यक्तिका लागि नभई व्यक्ति महासंघका लागि हुनु पर्दछ भन्ने मान्यताका साथ आगामी दिनमा महासंघको नेतृत्वमा बस्नेहरूको व्यक्तिगत लाभका लागि नभई सदस्यहरूको सामूहिक लाभ र समग्र देशको आर्थिक विकासमा केन्द्रित रही महासंघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाइ छ । 

सरकार तथा राजनीतिक दलहरूमा सन्तुलित, निरन्तर र प्रभावकारी सम्बन्ध राख्न सक्रिय भूमिका निर्वाह गर्ने, महासंघलाई क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न सम्बन्धको विस्तार गर्नुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय वित्तिय क्षेत्र तथा दातृ निकायहरूसँग कार्यगत सम्बन्ध विस्तार गर्ने श्रेष्ठले बताए ।

महासंघले ठूला व्यवसायीको विषयमा वकालत गर्दै आएको बताउने श्रेष्ठ साना तथा आम व्यवसायीको विषयमा पनि महासंघ बोल्नुपर्नेमा जोड दिन्छन् । ‘यस्ता विषय ठूलो सानो जे भए पनि महासंघले सैद्धान्तिक रुपमा उठान गर्नुपर्छ, त्यसमा मेरो जोडबल रहनेछ,’ श्रेष्ठले भने ।

अर्थतन्त्र कमजोर अवस्थामा पुगेका बेला नीतिगत दरहरूलाई पनि खुकुलो बनाउनुपर्ने श्रेष्ठको भनाई छ । ‘अवस्था जटिल भयो भन्दै एक पछि अर्को गर्दै कडाइका साथ ल्याइएका नीतिगत व्यवस्थाले समस्या गम्भीर बनेको छ,’ श्रेष्ठले भने, ‘बैंक वित्तीय संस्थाका नीतिगत दरहरू हेरफेर गरिदिने हो भने पनि निजी क्षेत्रलाई सहज हुने मात्र नभई कारोबार चलायमा न बन्दा अहिलेको समस्या टर्न सक्छ । यसमा महासंघमा मेरो जोडदार पहल रहनेछ ।’


Author

थप समाचार
x