नेपाल उद्योग वाणिज्य महासंघको ‘कोभिड रिलिफ क्पाम्पेन’
काठमाडौँ : कोभिड–१९ को नयाँ भेरियण्टसहितको संक्रमणको दोस्रो लहर फैलिएपछि सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राख्दै नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको थालनी गरेको छ ।
महासंघले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विगतदेखि नै अप्ठेरो समयमा यस खालका अभियान सञलन गर्दै आएको छ । ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारबाट हेल्लो डाक्टरको शुभारम्भ भएको महासंघले जनाएको छ । यस अभियान अन्तर्गत महासंघले थप कार्यक्रमहरू घोषणा गर्दै जानेछ ।
‘हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा संचालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन्,’ महासंघले भनेको छ । हेल्लो डाक्टर शुभारम्भ सँगै यसमार्फत स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने काम आजैदेखि शुरु भएको छ ।
‘कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन्,’ महासंघले भनेको छ, ‘हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ । त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।’
नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने बताइएको छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्ने उल्लेख छ । महासंघले देशभरका लागि यो सेवा निःशुल्क सञ्चालन गरेको हो ।
कोभिड–१९ संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया