अर्थ / बाणिज्य

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेदवारी दर्ता

एसोसिएट्सका उपाध्यक्ष भरतराज आचार्यको समर्थन

इकागज |
चैत २१, २०७९ मंगलबार १३:४७ बजे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामुहिक उम्मेदवारी दर्ता गरेको हो ।


श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन् । एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अन्जन समूहका प्रवलजंग पाण्डे लगायतका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरे ।

यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरूले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन् । उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्‍याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन् ।

'अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरू सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरूको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ' श्रेष्ठले भने 'अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ ।'

आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।
 


Author

थप समाचार
x