चिनी उद्योगले भुक्तानी नदिएको किसानको गुनासो
फाइल फोटो
सर्लाही - सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन् ।
अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानहरुले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानहरुले बर्सेनि आन्दोलन गर्दै आइरहेका गोडैता नगरपालिका–९, का किसान सीताराम यादवले बताए । उनका अनुसार सुरुमा केही किसानलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरुसँग सम्पर्कभन्दा बाहिर रहेका हुन् ।
'सुरुमा केही किसानहरुलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानहरुको पैसा दिन चिनी उद्योगहरुले वास्तै गरेनन्', गोडैताका अर्का किसान रामकिरण यादवले भने । चिनी उद्योग बन्द भएको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा आफूहरुलाई व्यवहार धान्न गाह्रो परिसकेको किसान यादवले बताए ।
उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन मात्र नभई आफ्नो घरखर्चसमेत धान्न नसक्ने अवस्था आएको अर्का उखु उत्पादक किसान राजकरण यादवले बताए । 'उखु खेतीबाटै व्यवहार चलाउने आफू जस्ता दर्जनौँ उखु उत्पादक किसानहरु उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण लिन बाध्य भएका छन्', राजकरणले गुनासो गरे ।
उखुको पैसा नपाउँदा उखु काट्ने, ढुवानी गर्ने ट्र्याक्टरको पैसा तिर्न नपाएको धनकौल गाउँपालिका–३, का उखु किसान रामस्वार्थ साहले गुनासो गरे । 'उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अयौल छ', उखु किसान साहले भने ।
बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा जिल्लाका किसानहरुले अन्यत्र ठाउँका चिनी उद्योग र सख्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताए । उनका अनुसार पछिल्लो समय जिल्लाका उखु उत्पादक किसानहरु उखुभन्दा अन्य खेतीतर्फ समेत आकर्षित हुन थालेका छन् ।
जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनबाट भने उखु किसानले भुक्तानी पाइरहेका भएपनि अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले हरेक वर्ष उखु उत्पादक किसानलाई पैसा दिन आलटाल गरेको उत्पादक किसान महासङ्घ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
जिल्लाका अन्य उद्योगले किसानको भुक्तानी समयमै नगर्दा उखु खेती घटेको र त्यसको प्रत्यक्ष प्रभाव इन्दुशंकर चिनी उद्योगलाई परेको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया