अर्थ / बाणिज्य

चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक

अजय अलौकिक |
मंसिर ३, २०७७ बुधबार १०:४४ बजे

बेइजिङः चीनको ऊहान सहरमा आयोजित २०२० बेल्ट एण्ड रोड चीन (ऊहान) ईन्टरनेशनल म्यानुफ्याक्चरिङ इण्डस्ट्री फोरममा चिनियाँ उद्योगपति तथा लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक देखिएका छन् । चीनको ऊहान सहरमा नोभेम्बर १७ मा उक्त फोरमको आयोजना भएको हो । बेल्ट एण्ड रोडमा आबध्द मुलुकहरूमा मेकानिकल तथा ईलेक्ट्रोनिक्स उत्पादन वस्तुहरू उत्पादन प्रवर्ध्दनका लागि यो फोरमको आयोजना गरिएको थियो । 

फोरममा नेपालको तर्फबाट सहभागिता जनाउँदै बेइजिङस्थित नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि अवसरहरू धेरै भएको बताउँदै गर्दा चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक भएका हुन् । फोरममा बेल्ट एण्ड रोडमा आबद्ध मुलुकहरूमध्ये नेपाललाई मात्र प्रस्तुतीको अवसर दिइएको थियो । 


इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले आफ्नो प्रस्तुती ‘डुइङ बिजनेस इन नेपाल’ मा बेल्ट एण्ड रोड इनिसिटिभ (बीआरआई) मा आबध्द नेपालमा लगानीको उपयुक्त वातावरण रहेको र म्यानुफ्याक्चरिङ यूनिट्सहरू नेपालमा समेत स्थापना गर्नुपर्ने बताए । उनले ठूला लगानीकर्ता भित्र्याउनका लागि नेपालमा लगानी बोर्डको समेत गठन भएको पनि बताए ।

'चिनियाँ लगानीकर्ता तथा उद्योगपतिहरूलाई आग्रह छ कि नेपाल बेल्ट एण्ड रोडमा आबद्ध भएको हुनाले नेपालमा पनि म्यानुफ्याक्चरिङ यूनिट्सहरू जानुपर्छ,' उनले भने । फोरममा उपस्थित चिनियाँ लगानीकर्ता, उद्योगपति तथा विदेशी कूटनीतिज्ञहरूलाई नेपालमा लगानी वातावरण, कानूनी सुधारका कुराहरू, प्रक्रियागत सुधारहरू, लगानीकर्ताले पाउने सुविधाबारे पनि यहाँ जानकारी दिएकाे जानकारी दिए ।

चाइना चेम्बर अफ कर्मश फर इम्पोर्ट एण्ड एक्स्पोर्ट अफ मेशिनरी एण्ड इलेक्ट्रोनिक प्रोडक्ट्स (सीसीसीएमई) का दुई सय भन्दा बढी सदस्यबीच उनले नेपालमा लगानीको सम्भावना तथा सम्भावित क्षेत्रकाबारेमा जानकारी दिएका हुन् । महामारी पश्चात् बेल्ट एण्ड रोडमा आबद्ध मुलुकहरूबीच औद्योगिक उत्पादनमा अन्तर्राष्ट्रिय सहकार्य शीर्षकको कार्यक्रममा मिनिस्टर पराजुलीले नेपालमा लगानी सम्बन्धमा (डुइङ बिजनेस इन नेपाल) आफ्नो प्रस्तुती दिएका हुन् । 

चीनभरिका मेकानिकल तथा ईलेक्ट्रोनिक उद्योगका उद्योगपतिको भेलामा नेपालमा लगानीको अवसरबारे भनिरहँदा सबैजना निकै उत्साही भएका थिए । लगानीका लागि सीमा जोडिएको नेपाल सबैभन्दा नजिक, सबैभन्दा राम्रो र उपयुक्त भएको सहभागीको ठहर छ । चीनको अप्टिकल फाइबर भ्याली समेत भनिने ऊहानका अप्टिकल फाइबर उद्योगलाई नेपालमा भित्र्याउन सके विज्ञान प्रविधिको विकासमा राम्रो हुने पराजुलीको भनाइ छ । 

'औद्योगिक हबको रूपमा रहेको ऊहानका कुनै पनि उद्योगका ससाना पार्ट्स मात्रको उत्पादन नेपालमा गराउने वातावरण बनाउन सके पनि देशलाई धेरै फाइदा पुग्ने छ,' उनी भन्छन् ।  साथै धेरै नेपाली विद्यार्थीहरू पढ्ने एउटा शैक्षिक हबको रूपमा रहेको ऊहानमा नेपालबीच एयर कनेक्टिभिटी जोड्न सके नेपालको पर्यटन बजार पनि फस्टाउने मौका पाउने छ ।
 
बेल्ट एण्ड रोडमा आबद्ध २२ मुलुकहरूको सहभागिता रहेको दोस्रो २०२० बेल्ट एण्ड रोड चीन (ऊहान) ईन्टरनेशनल म्यानुफ्याक्चरिङ इण्डस्ट्री फोरममा चिनियाँ कम्युनिस्ट पार्टी हुपै प्रान्तीय कमिटीका स्थायी सदस्य तथा ऊहान नगर कमिटीका सचिव वाङ चोङलिन, सिसिसिएमईका उपसभापति वाङ क्विछिङका साथै कोलम्बियाका राजदूतले मन्तव्य राखेका थिए । साथै मेकानिकल तथा ईलेक्ट्रोनिक क्षेत्रका प्रतिष्ठित चिनियाँ व्यक्तित्वले विज्ञान तथा प्रविधि क्षेत्र, दिगो विकासका क्षेत्रका विषयमा चर्चा परिचर्चा गरेका थिए ।

ऊहान मध्य चीनको व्यापार तथा पारवहन हबसँगै आर्थिक, सांस्कृतिक र शिक्षाका लागि पनि प्रसिद्ध छ । यही ऊहान सहरमा गत वर्षको डिसेम्बरमा कोरोना महामारी फैलिएको थियो भने हाल जनजीवन सामान्य भइसकेको छ ।


Author

थप समाचार
x