आन्तरिक राजस्व संकलन गत वर्षको तुलनामा न्यून
फाइल फोटो
काठमाडौँ - चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व संकलन रु तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ । गत आवको सोही अवधिमा सरकारले रु तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो ।
गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व सङ्कलनको तुलनामा चालु आवको सोही अवधिमा रु पाँच अर्ब ५५ करोड ६६ लाख कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो । चालु आवको चैत मसान्तसम्ममा सरकारले रु एक खर्ब ५० अर्ब २० करोड बराबर आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा रु एक खर्ब ६५ अर्ब ४५ करोड आयकर संकलन भएको थियो ।
नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट संकलन) रु ७८ अर्ब ८९ करोड ६५ करोड बराबर छ । अन्तःशुल्कतर्फ रु ७४ अर्ब २८ करोड ९२ लाख बराबर असुली भएको छ । यही अवधिमा घरबहाल करतर्फ रु एक अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ रु पाँच अर्ब २५ करोड र शिक्षा करतर्फ रु एक अर्ब २६ करोड बराबर उठेको विभागको तथ्यांकबाट देखिन्छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व संकलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म रु सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व संकलन भएको देखिएको हो ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया