अर्थ / बाणिज्य

हेटौंडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

इकागज |
बैशाख ७, २०८० बिहीबार २१:२१ बजे

फाइल तस्बिर

मकवानपुर- करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा आज बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ ।

करिब ६ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ ।


उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी आजै बिहानदेखि सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिङ्कर उत्पादन पुनः सुरु गरिएको हेटौंडा सिमेन्टका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

कर्णले करिब चार दशकअघिदेखि सञ्चालनमा रहेको उद्योगमा पटक–पटक प्राविधिक समस्या आएकाले उत्पादन बन्द गर्नुपर्ने बाध्यताले अब सिमेन्ट उत्पादन सञ्चालन गर्न कठिनाइ भोग्नुपर्ने भएको बताए । उनले अब उद्योगलाई नयाँ प्रविधिबाट दीर्घकालीन रूपमा क्षमताअनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले प्रधानमन्त्री र उद्योग वाणिज्य मन्त्रीलाई ध्यानाकर्षण गराई सरकारको तर्फबाट आर्थिक रकम उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए ।

अहिले उद्योगमा पर्याप्त चुनढुङ्गा र कोइला आपूर्ति भइरहेको उद्योगको उनले बताए । उनका अनुसार सिमेन्ट उद्योगको उत्पादन बन्द रहेको भए पनि भण्डारणमा रहेको सिमेन्टको प्याकिङ र प्याकिङ गरिएको सिमेन्ट काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, भैरवालगायतका शहरहरूमा बिक्री वितरण नियमित रूपमा भइरहेको छ ।

हेटौंडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २२ देखि व्यावसायिक उत्पादन सुरु गरी सर्वसाधारण र विकासको आयोजनालाई आपूर्ति गर्दै आएको उनले बताए । रासस


Author

थप समाचार
x