अर्थ / बाणिज्य

महमा अखाद्य पदार्थ मिसावट गर्ने भारतीय गिरोह पक्राउ

इकागज |
बैशाख ३१, २०८० आइतबार १६:२६ बजे

फाइल तस्बिर

लुम्बिनी- बुटवलमा महमा अखाद्य पदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो । 

सो गिरोहले घर भाडामा लिएर अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । पक्राउ पर्नेमा भारत, विहारको विरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रवीन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका छन् ।


प्रहरीले गस्तीका क्रममा मह उत्पादन गर्दै गरेको उद्योगमा सो गिरोहलाई फेला पारेको हो । उद्योगमा खानतलासी गर्दा चार क्विन्टलभन्दा बढी अखाद्य पदार्थ मिसावट गरेको मह फेला परेको प्रहरीले जनाएको छ । खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जनानगरबाट विभिन्न व्यक्तिको घरबाट अखाद्य पदार्थ मिसावट गरेको मह बरामद गरिएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ ।

बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ । रासस


Author

थप समाचार
x