लम्पी स्किन फैलिएपछि गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक
मुग्लिन । लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका छन् ।
गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार लम्पी स्किन रोगबाट गाउँपालिकाभर हालसम्म २३ वटा गाईगोरु मरेका छन् । वडा नं १ मा सबैभन्दा धेरै गाईगोरु मरेका छन् । वडा नं १ मा मात्र ११ वटा गाईगोरु मरेका छन् । वडा नं २ मा १० र वडा नं ७ मा दुईवटा मरेका छन् । उनका अनुसार गाउँपालिकाको सातवटै वडामा फैलिएको यस रोगबाट पाँच सयभन्दा बढी गाईगोरु बिरामी परेका छन् ।
प्रमुख विकका अनुसार किसानबाट जानकारी पाउनासाथ पशु चिकित्सक डा सुनिल ज्ञवालीसहितको प्राविधिक टोलीहरु किसानको गोठ–गोठमा पुगेर आवश्यक उपचार र परामर्श दिन सुरु गरेका थिए । प्रत्येक वडामा प्राविधिक खटाई हरेक दिन उपचार र विवरण सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए ।
इच्छाकामनामा भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चारमाध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर पशु चिकित्सक र प्राविधिकहरु खटाई उपचार र जनचेतनामूलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा पुगेको पशु सेवा शाखाका प्रमुख विकले बताए ।
यस रोगको ठोस उपचार नभएकाले सङ्क्रमित गाईभैँसीलाई मृत्युबाट बचाउन लक्षणमा आधारित उपचार गर्ने र सङ्क्रमण फैलन नदिनका लागि गाईभैँसीको ओसारपसार र गोठको सरसफाइ नै मुख्य उपाय रहेको उहाँको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया