अर्थ / बाणिज्य

अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू

१० अर्ब राजश्व संकलन बढ्ने

इकागज |
जेठ १, २०८० सोमबार १५:९ बजे

काठमाडौँ- मोबाइलको आयातलाई व्यवस्थित बनाउनका लागि सरकारले आइतबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ । सरकारले नेपालमा अवैध रूपमा भित्रिने मोबाइलको ओसारपसार रोक्नका लागि एमडीएमएस प्रणाली लागू गर्न लागेको हो ।

एमडीएमएस प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने  र अब अवैध तरिकाले भित्र्याइएका मोबाइल नचल्ने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि विदेशमा गएका नेपाली मुलुक फर्कंदा थप एउटा मोबाइल ल्याउँदा भन्सार शुल्क छुटको व्यवस्था समेत गरेको छ ।


सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् २०७८ साउनदेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ गतेको भाका सारिएको थियो । नयाँ सरकार बनेसँगै उक्त प्रणाली तत्काल लागू नगर्ने निर्देशन भएसँगै रोकिएको थियो । सरकारले वैदेशिक रोजगारीमा गएर फर्कने नेपालीहरूको हकमा लागू हुने गरी विदेशमा बस्दा चलाउँदै आएको भन्दा थप एउटा मोबाइल भन्सार तिर्न पर्ने व्यवस्था गरेको छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले कानुनी छिद्र प्रयोग गरेर अवैध रूपमा मोबाइल ओसारपसार बढेकाले यसलाई नियन्त्रण गर्नका लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरिएको बताए । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नहुँदा सरकारलाई राजश्व संकलनको हिसाबले राज्यलाई गम्भीर क्षति भइरहेको बताए । उनले वैदेशिक रोजगारीमा गएका सोझा सिधा मानिसहरूलाई प्रयोग गरेर केही व्यवसायी तथा तस्करहरू मोबाइल ओसारपसारमा लागेको जिकिर गरे ।

उनले अहिले पनि अवैधानिक रूपमा बजारमा भित्रिएका मोबाइल संख्याको करिब ४० लाखको हाराहारीमा रहेको बताए । सूचना अधिकारी खड्काका अनुसार एउटा मोबाइलको १५० लाखको मूल्याङ्कन गर्दा सरकारलाई १८ प्रतिशतसम्म राजश्व कम भइरहेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदा १० अर्ब राजश्व संकलन बढ्ने आकलन गरेको उनकाे भनाइ छ । उनले विद्यार्थी तथा पर्यटन र अन्य पक्षहरूलाई छाड्दा वार्षिक आवतजावतमा पनि दुरुपयोग भइरहेको जिकिर गरे ।

नेपालमा प्रयोग हुने मोबालइहरूलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)  डिभाइस जडान गरेर मात्रै सञ्चालन गर्ने  नयाँ अवधारणा आजदेखि लागू भएको उनले जानकारी दिए । प्राधिकरणका अनुसार गत पुस १५ देखि नै सञ्चालनमा ल्याउने तयारी भए पनि भन्सारले एउटा भन्दा बढी मोबाइल ल्याएको हकमा कसरी नियमन गर्ने र दर्ता प्रक्रियामा लैजाने भन्ने विषय समय लागेकाले ढिलो गरी व्यवस्थापन गरेर लागू गरिएको उनले बताए ।

खड्काले विदेशमा ६ महिनाभन्दा बढी बसेर आउने र थप एउटा मोबाइल ल्याउँदा मोबाइल ल्यानेहरूले भन्सारलाई जानकारी दिने र त्यही अनुसार दुरसञ्चारलाई पठाउने बताए । उनले विद्यार्थी भिसामा गएर अध्ययन पूरा गरेर फर्कने विद्यार्थीहरूको हकमा विद्यार्थीहरूले अध्ययन पूरा गरेर नेपाल फर्कंदा एक थान मोबाइलको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्दैन तर उनीहरूले थप मोबाइल लिएर आउँदा भन्सार तिर्नुपर्ने बताए ।

 


Author

थप समाचार
x