अर्थ / बाणिज्य

बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक : अर्थमन्त्री महत

इकागज |
जेठ १, २०८० सोमबार २१:२० बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् । 

नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रूपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे/नगरेको बारे समीक्षा गर्नुपर्ने बताए ।  


'पुरातन शैलीले नभइ अब नवीनतम् प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ,' उनले भने । 

बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उनको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुत र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताए । 'यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन । बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए/नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ,' उनले भने । 

सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उनले बताए ।


Author

थप समाचार
x