अर्थ / बाणिज्य

अक्सिजन कन्सन्ट्रेटर लगायत उपचार सामग्री आयात गर्न ड्राफ्ट, टीटीको सीमा हटाइयो

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १६:३२ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैंकले कोभिड–१९ प्रतिकार्य अन्तर्गत अत्यावश्यक स्वास्थ्य सामग्री आयात गर्नका लागि असार मसान्तसम्म ड्राफ्ट, टीटीको सीमा हटाएको छ । त्यस्तै, स्वास्थ्य सामग्री आयातका लागि व्यवसायिक विश्वसनीयता जानकारी (बिजनेस क्रेडिबिलिटी इन्फरमेसन) पनि लिनुनपर्ने भएको छ । उक्त अवधि सम्मको आयातमा स्वास्थ्य सेवा विभागको सिफारिस समेत लिनु नपर्ने व्यवस्था भएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । 

यसअघि ३५,००० अमेरिकी डलरभन्दा माथिको आयात एलसी (प्रतीतपत्र) मार्फत् गर्नुपर्ने व्यवस्था भएपनि कोभिड–१९ को उपचारमा प्राणरक्षक सामग्रीको अभाव हटाउन राष्ट्र बैंकले त्यस्ता सामग्री आयात गर्न ड्राफ्ट र टीटीको सीमा बढाइदिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । 


यसअघि नेपालले भारत र तेश्रो मुलुकबाट वस्तु आयात गर्दा ३५,००० अमेरिकी डलरसम्म ड्राफ्ट र टेलिग्राफिक ट्रान्सफर (टीटी) मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था थियो ।  भुक्तानी सम्बन्धी प्रावधानहरू मौद्रिक नीति र यसको समीक्षामार्फत परिवर्तन गर्न सक्ने भएपनि महाविपत्तिको समयमा कोभिड–१९ को उपचार, जोखिम न्यूनीकरणमार्फत् मानवीय जीवन रक्षाका लागि अत्यावश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्यांक, अक्सिजन जेनेरेटर, अक्सिजन म्यानुफ्याक्चरिङ्ग प्लान्ट, अक्सिजन डेलिभरी एक्सिसरिज, अक्सिजनसम्बन्धी उपकरण तथा भेन्टिलेटर उपकरण लगायतका जीवन रक्षक साम्रगी नेपालका बाणिज्य बैंकहरुबाट सोझै ड्राफ्ट/टीटीको माध्यमबाट आयात गर्न सकिने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 


Author

थप समाचार
x