लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिबद्ध : मन्त्री रिजाल
फाइल फोटो
काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले लगानीमैत्री औद्योगिक वातावरण निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोत सदुपयोगका लागि आवश्यक वातावरण बनाउनका लागि सरका प्रतिवद्धता रहेको बताएका हुन् ।
उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य थप प्रभावकारी रुपमा हुन आवश्यक रहेकोमा जोड दिए । औद्योगिक क्षेत्रको उचित विकास विना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नभएको उनको भनाइ छ । मन्त्री रिजालले स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन एवं निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यवहारिक पक्षमा आउने सुझावहरूलाई सरकारले गम्भीरता पूर्वक लिने धारणा राखे ।
सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले असहज अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले उचित बजेट ल्याउनुपर्ने बताए । उनले लगानी गर्ने वातावरण ठप्प हुनु अर्थतन्त्रका लागि चुनौती भएको जिकिर गरे । वाग्लेले चालू आर्थिक बर्षको बजेटमा समावेश भइ कार्यान्वयन हुन नसकेका विषयलाई अहिलेको बजेटमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भारतमा उद्योगीहरुलाई निकै सहज रुप रहेको भन्दै नेपालमा पनि औद्योगिक वातावरण बनाउनुपर्ने बताए । घोषणा गरेर पनि विकास हुन नसकेका औद्योगिक क्षेत्रलाई निजी क्षेत्रसँग सहकार्य गरेर विकास गर्न सकिने उनले बताए । उनले सरकारले स्वदेशी वस्तु प्रयोग गर्ने नीति अपनाउनु पर्नेमा समेत जोड दिए ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका स्वदेशी समिट २०२३ आयोजना गरिएको परिसंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया