तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न माग
काठमाडौँ- नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ । आइतबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो ।
संघले तोरीको तेल अत्यावश्यक खाद्य वस्तु भएको भन्दै अवैध रूपमा भित्रिने तोरीको तेलका कारण स्वदेशी उद्योगहरू बन्द हुन थालेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुवोध गुप्ताले सरकारले स्वदेशी उद्योगहरू बन्द हुन नदिनका लागि १३ प्रतिशतको कर खरेज गर्नुपर्ने बताए । उनले नेपालमा तोरीको तेल उत्पादन गर्दा १ प्रतिशत कच्चा पदार्थ र १३ प्रतिशत मूल्यअभिवृद्धि कर रहेको जिकिर गरे ।
भारतमा तोरीको तेल उत्पादन भएकाले सीमानाकाबाट अवैध रूपमा तोरीको तेल आइरहेको उनकाे भनाइ छ । उनले सरकारले अवैधानिक रूपमा आयात भइरहेको तोरीको तेल सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष गुप्ताले नेपालमा तेल उद्योगलाई बचाउनका लागि सरकारले चोरी पैठारी नियन्त्रण गर्ने र १३ प्रतिशत कर खारेज गर्न आवश्यक रहेको पनि बताए । सरकारले संघका दुई वटा माग सम्बोधन नगरेसम्म भारतसँग प्रतिष्पर्धा गर्न नसक्ने धारणा उनले व्यक्त गरे ।
संघले भारतमा कृषि उत्पादनमा मल, बिउ लगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा भ्याट नलाग्ने भएकाले भारतीय तोरीको तेल नेपाली तोरीको तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा बिक्री भइरहेको बताएको छ । संघले अस्वस्थ प्रतिष्पर्धाका कारण अनधिकृत व्यापारले नेपाली बजारमा प्रोत्साहन पाइरहेको बताएको छ ।
यस्तै संघले बैंक ब्याज एकल अंक हुनुपर्ने, विद्युत् अनुदान तथा अन्य सुविधा हुनुपर्ने र क्रेडिट एक्ट लागू हुनुपर्ने माग राखेको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरूलाई निश्चित नीति निर्माण गर्न आवश्यक रहेको संघको माग छ । नेपालमा स्वदेशी र आयातित कच्चा पदार्थ प्रयोग गरी लगभग २५ वटा दाल उद्योगहरू सञ्चालनमा रहेका छन् । संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकोले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने, रातो बासमती विदेश निकासी खुल्ला हुनुपर्ने समेत माग राखेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया