अर्थ / बाणिज्य

हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड ९७ प्रतिशत बिलिङ उठाउन सफल

इकागज |
जेठ ८, २०८० सोमबार २२:३ बजे

मकवानपुर- हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पानी महसुल बिलिङ रकमबाट ९७.२६ प्रतिशत रकम उठाउन सफल भएको छ । बोर्डले ९ करोड ८० लाख ९२ हजार मध्येमा ९ करोड ५४ लाख ११ हजार बिलिङ उठाउन सफल भएको हो ।

उपभोक्तालाई पानी वितरणका लागि बोर्डले उपभोक्तासंगको सहकार्यमा २६ लाख ४२ हजार ५०४ बराबरको २२ हजार ३३६ मिटर पाइप लाइन विस्तार गरिएको छ । बोर्डको सेवा क्षेत्र भित्र ४ लाख ३८ हजार रुपैयाँ बराबरको ३ हजार ८६ मिटर जीर्ण पाइप परिवर्तन गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाले बताए ।


बोर्डको सेवा क्षेत्रभन्दा बाहिर हेटौंडा उपमहानगरपालिकाको सिफारिसमा २८ लाख ३६ हजार ४५४ रुपैयाँ बराबरको ५१ हजार ९२० मिटर पाइप उपलब्ध गराइएको छ । हाल बोर्डले हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नं २,४,५,६,७, ८,९,१० गरी ८ वटा वडाको सबै भू-भाग र वडा नं. १, १४, १५, १६, १७, १८ र १९ का केही भू-भागहरूमा बसोवास गर्ने करिब १ लाख ५५ हजार नगरवासीहरूलाई दैनिक १ करोड ८८ लाख लिटर पानी उत्पादन गर्दै आएको छ । करिब २३ हजार ५ सय धाराहरूबाट सरदर दैनिक ६ देखि ७ घण्टा  खानेपानी वितरण गर्दै आइरहेको निमित्त कार्यकारी निर्देशक सापकोटाले बताए ।

हेटौंडा उपमहानगरपालिकाले नगरवासीहरूलाई राहत दिने उद्देश्यले २०७९ साल भदौ महिनादेखि न्यूनतम खानेपानी महसुलमा १० हजार लिटर पानीका छुटको व्यवस्था गरेसंगै खानेपानी बोर्डमा उपभोक्ता समितिहरू हस्तान्तरण हुने क्रमले तीब्रता पाएको छ । हालसम्म बोर्डमा हेटौंडा वडा नंं. १० मा अवस्थित न्युरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, हेटौंडा १८ हर्नामाडीको हर्नामाडी डिप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र हेटौंडा वडा नं. ६ को कल्याणटार खड्कुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बोर्डमा आबद्ध भइसकेका छन् ।

बोर्डबाट उठाउन बाँकी पानी महसुल रकम ४६ लाख रहेको लेखा प्रमुख संजय न्यौपानेले बताए । चालु आवमा हेटौंडा उपमहानगरपालिकाले खानेपानीको पाइप खरिदका लागि ८३ लाख ८७ हजार उपलब्ध गराएको न्यौपानेले बताए । सन् २०३० सम्म सबका लागि पर्याप्त मात्रामा खानेपानी उपलब्ध गराउन बोर्ड योजनाबद्ध ढंगले अघि बढिरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए ।

हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई २०७९ भदौ १ गतेबाट पिउने पानी निःशुल्क उपलब्ध गराउँदै आएको छ । हेटौंडा उपमहानगरपालीकाले १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएको हो । हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच २०७९ साउन २२ मा भएको सम्झौता अनुसार १ भदौबाट पानी निःशुल्क प्रदान गरिँदै आएको हो ।

नगरवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने हेटौंडा नगर देशकै पहिलो उपमहानगरपालिका हो । नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटर सम्म निःशुल्क रूपमा खानेपानी उपलब्ध गराउँदै आइएको हो ।


Author

थप समाचार
x