वैदेशिक रोजगारीबाट फर्केकाको पुनःस्थापनामा ध्यान दिन आग्रह
काठमाडौँ- रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनले आज एक विज्ञप्ति जारी गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनका लागि आवश्यक पर्ने ऐन, कानुन, नियम तथा निर्देशिका तत्काल तयार गरी लागू गर्न माग गरेको हो ।
रिटर्नीको समष्टिगत व्यवस्थापनका लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकास गर्न आग्रह गर्दै फेडेरेसनले वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरी उनीहरूको सीप, पुँजी र प्राविधिक ज्ञानको पहिचानसहितको श्रमिक तथ्याङ्क बैंक स्थापना गरी देशको योजना तथा उत्पादन क्षेत्रमा उपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारलाई सुझाएको छ ।
फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सरकारी स्तरबाट बर्सेनि रिटर्नीको नाउँमा रकम विनियोजन हुने तर सम्बन्धित पक्षसँग नपुगी कार्यान्वयन निकाय तथा विचौलियामार्फत् विभिन्न छलफल, बैठक तथा कार्यशालामा खर्चिने प्रवृत्तिको अन्त्य गरी त्यस्तो रकम बीउपुँजी, पूर्वाधार विकास तथा प्रत्यक्ष उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
विदेश जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिममा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त रिटर्नीको सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिँदै फेडेरेसनले रिटर्नी लक्षित सरकारी नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रममा रिटर्नी प्रतिनिधिको सहभागिताको सुनिश्चिता गर्न माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया