एनसेलले गर्यो मध्यस्थतासम्बन्धी निर्णयको पुष्टि
काठमाडौँ- एनसेल नेपालले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) ले नेपाल सरकारलाई बुझाउनुपर्ने लाभकर सम्बन्धमा गत जेठ २६ गते गरेका फैसलाको पुष्टि गरेको छ ।
आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रूपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन आईसीएसआईडी मा निवेदन दिएको थियो ।
आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको एनसेल नेपालले आज सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको उसको विज्ञप्तिमा छ ।
मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ । यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरी करिब १४ लाख अमेरिकी डलर (हालको मूल्यमा १८ करोड ३४ लाख रुपैयाँ) रहेको छ । उक्त निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी नरहेको एनसेलले जनाएको छ ।
‘आजियाटा न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ,’ विज्ञप्तिमा छ, ‘यस विषयमा अद्यावधिक जानकारीहरू पछि घोषणा गरिनेछन् । आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झै रचनात्मक रूपमा संलग्न रहनेछ ।’
आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उल्लेख्य योगदान पुर्याएको छ । देशको एक ठूलो करदाताका रूपमा एनसेलले स्थापना देखि गत आर्थिक वर्ष २०७८/७९ सम्ममा कर तथा विविध शुल्कहरू बापत २ खर्ब ८३ अर्ब रुपैयाँ योगदान गरेको छ ।
एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ र एक करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ ।
आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले राष्ट्रका लागि महत्वपूर्ण भनेर पहिचान गरिएका क्षेत्रहरू शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरूमा १ अर्ब ७५ करोड भन्दा बढी लगानी गरिसकेको छ ।
एनसेलले आफ्ना ग्राहक र नेपाली जनतालाई सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया