स्वास्थ्य पूर्वाधार विस्तारमा चौधरी फाउण्डेसन, आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने
वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट, धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट
काठमाडौँ : कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटलाई मध्यनजर गर्दै चौधरी फाउण्डेसनले स्वास्थ्य पूर्वाधार विस्तारमा सहयोग गर्ने भएको छ । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको फाउण्डेसनले जनाएको छ ।
‘वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिनेछ । र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुन लागेको छ,’ चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन जनरल म्यानेजर मधुसूदन पौडेलले भने, ‘त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको छ ।’
उनका अनुसार, वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्नेछ ।
‘अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न हाम्रो टिम अहोरात्र खटिएको छ,’ उनले भने, ‘मुलुकमा दीगो स्वास्थ्य पूर्वाधार विकासमा इँटा थप्न सकियोस् भनेर यी कार्यक्रम अघि बढाइएको हो ।’
फाउण्डेसनले केही दिन भित्रै अत्यावश्यक सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्यालाई सुर्खेत र धनगढीमा स्थापना हुने अक्सिजन प्लान्टले समस्या सम्बोधन गर्ने बताएका छ ।
‘धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन् । यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छौं ।,’ फाउण्डेसनले भनेको छ, ‘यी कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन् ।’
आपतकालीन स्वास्थ्य सामग्री र उल्लेखित पूर्वाधार व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको फाउण्डेसनले जनाएको छ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको उल्लेख गरेका छन् ।
‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो । यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्,’ चौधरीलाई उद्धृत गर्दै फाउण्डेसनले भनेको छ, ‘हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं ।’
चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो । साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण र केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजार थान पीसीआर रिएजेन्टसमेत उपलब्ध गराएका बताएको छ । २०७२ को महाभूकम्पपश्चात् चौधरी फाउन्डेसन भूकम्पबाट घरबारविहीन बनेका २,५०० भन्दा बढी परिवारका लागि आवास र ५० भन्दा बढी विद्यालय निर्माण गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया