अर्थ / बाणिज्य

असार १६ गतेदेखि गिट्टी बालुवा उत्पादन बन्द गर्ने चेतावनी

इकागज |
असार ३, २०८० आइतबार १७:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेदेखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ । महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।

महासंघले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानका लागि पहल गरे पनि अहिलेसम्म नभएको गुनासो गरे ।


उनले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुन बमोजिम सञ्चालनमा आएका उद्योगहरू समेत बन्द गरेको बताए । उनले मन्त्री परिषद्ले गत माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुन अनुसार लाग्ने कर, दस्तुर, शुल्क लगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताए ।

उनले क्रसर उद्योगहरू दर्ता वा राजश्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरण समेत भएको बताए । उनले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन नगरे असार १६ गते देखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको बिक्री वितरण कार्य तथा उत्पादन कार्य ठप्प गरी अनिश्चित कालका लागि बन्द गर्ने बताए ।

महासंघले कच्चा पदार्थका रूपमा रहेका ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन कार्य र तिनै कच्चा पदार्थहरू क्रसिङ प्रशोधन गर्ने गरी उद्योग सञ्चालन गर्ने कार्य छुट्टाछुट्टै उद्देश्य रहेको बताएको छ । महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँगै जोडेर मूल्याङ्कन गर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय सरकारमार्फत क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालयमार्फत व्यवस्थापन गर्ने व्यवस्था गर्न माग गरेको छ । 


Author

थप समाचार
x