लाइसेन्सको राजस्व भुक्तानी अब अनलाइनबाटै
फाइल फोटो
काठमाडौँ - सरकारले सवारी चालक अनुमति पत्रको अनलाईन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको काम पनि शुभारम्भ गरेको छ ।
बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो विद्युतीय सेवा प्रवाहको कामको औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिना भित्रै देशव्यापी रुपमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । कास्की जिल्लाको यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिना भित्र देशब्यापी रुपमा लागू गर्ने मन्त्री ज्वालाले बताए । उनले यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो सेवा शुभारम्भ गरेको पनि स्पष्ट पारे ।
मन्त्री ज्वालाले भने, ‘हामीले यो कामलाई संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र यी मन्त्रालयहरु मातहतका कार्यालयहरुमार्फत अगाडि बढाउँदैछौं । हामीले यो कामलाई एक्लै मात्रै गरेर सम्भव हुँदैन । हामीले संघको तर्फबाट हाम्रो मन्त्रालय र यातायात व्यवस्था विभागको तर्फबाट हामीले गर्नुपर्ने सहयोग, सर्पोट, सहजीकरण हामीले उपलब्ध गराउँछौं । त्यसलाई कार्यान्वयन गर्ने काम चाँही प्रदेश सरकार र प्रदेश सरकार अन्तरगतका यातायात व्यवस्था कार्यालयहरुले गर्नेछन् । आज यो जुन अनलाईन सिष्टम हामीले शुभारम्भ गरेका छौं । यो आजको दिनदेखि नै कास्की जिल्ला यातायात व्यवस्था कार्यालयबाट सेवा सुरु हुन्छ । हामीले यो प्रारम्भ गरेका छौं । कास्की जिल्लाबाट गरेका छौं । यो सेवालाई क्रमशः एक महिना भित्र नै देशव्यापी रुपमा यो अनलाईन सेवा प्रणाली लागू गरिसक्छौं । यति कुरा चाँही म तपाईहरुको बीचमा अनुरोध गर्न चाहन्छु । तपाई हामी सबैलाई थाहा छ–यातायात व्यवस्था विभाग कार्यालयको अगाडि सेवाग्राहीको धेरै भिड हु्न्छ । त्यसले हामीले गिज्याईरहेको जस्तो महशुस गर्छौ । हामीले एउटा कमिटमेन्ट गरेका छौं–यो लाईनविहिन राष्ट्र बनाउने । अथवा कुनै पनि ठाउँमा लाईन लाग्न नपरोस् । पासपोर्ट बनाउने ठाउँमा लाईन लाग्न नपरोस् । नागरिकता लिने ठाउँमा, नेशनल आईडी लिने कुनै पनि ठाउँमा लाईन लाग्न नपर्ने अवस्था हामी सृजना गर्न चाहन्छौं । यसको कार्यान्वयनमा हामी आजकै दिनदेखि सक्रिय रुपमा लाग्ने पनि जानकारी गराउन चाहन्छु ।’
मन्त्री ज्वालाले सो सेवालाई एक महिना भित्र देशव्यापी रुपमा लागू गराउने गरी आजैबाट सरकार क्रियाशील हुने पनि बताए । उनले सो सेवालाई देशव्यापी बनाउने काममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायहरुलाई परिचालन गरिने समेत योजना समेत सार्वजनिक गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया