एडीबीको समाचारबारे इकागजलाई पत्र
फाइल तस्बिर
श्रीमान् सम्पादकज्यू,
इकागज डट कम
इकागज अनलाइन सञ्चार माध्यममा २०८० असार १९ तद्नुसार ४ जुलाई २०२३ मा प्रकाशित एसियाली विकास बैंक (एडिबी)द्वारा प्रस्तावित मेकानाइज्ड इरिगेसन इनोभेसन प्रोजेक्ट) सम्बन्धी समाचारमा हामी यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं । समाचारको शीर्षक र विषयवस्तु भ्रामक र मिथ्यापूर्ण रहेको छ, जसले पाठकलाई भ्रमित तुल्याउनुको साथै यहाँको समाचार माध्यमको विश्वसनीयतामा समेत आँच पुग्नेछ । एसियाली विकास बैंकसँग सम्बन्धित सूचना एडिबी नेपालसँग तथ्य जाँच वा यकिन नगरिएकोप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं ।
प्रस्तावित ‘मेकानाइज्ड इरिगेसन इनोभेसन प्रोजेक्ट’ ले मधेश प्रदेश अन्तर्गत तराईका दुई जिल्लामा उच्च क्षमताका ५०० ट्युबवेललाई छुट्टै (डेडिकेटेड) विद्युत् वितरण सञ्जालमार्फत् विद्युत् आपूर्तिको सुनिश्चिततासहित २२,४०० हेक्टर क्षेत्रफलमा वर्षभर सिंचाइ सुविधा पहुँच विस्तार सहितको दीर्घकालीन तथा दिगो समाधान प्रदान गर्नेछ । माग बमोजिमको सिंचाइ सुविधा करिब २२,००० कृषक परिवारलाई अग्रिम भुक्तानीयुक्त सिंचाइ सेवामार्फत प्रदान गरिनेछ ।
नेपालमा खेतीयोग्य करिब २६ लाख हेक्टर क्षेत्रफलमध्ये करिब १४ लाख हेक्टरमा मात्र सिंचाइ सुविधा पुगेको छ । त्यसमध्ये धेरैजसो सिंचाइ प्रणालीहरूले तराईका करिब १२ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँका लागि वर्षा ऋतुमा पूरक सिंचाइ मात्र प्रदान गर्दछन् । ४० प्रतिशतभन्दा कम सिंचाइ प्रणालीहरूले मात्र वर्षैभरी निरन्तर सिंचाइ सुविधा प्रदान गर्दछन् ।
सिञ्चित क्षेत्रफल विस्तार र सुख्खायाममा विश्वसनीय सिंचाइ सेवाको व्यवस्थाका लागि उपयुक्त जलाशययुक्त बाँध, नदी पथान्तरण तथा सतह सिंचाइ प्रणालीको उच्च लागत बाधकको रूपमा रहेका छन् । वैकल्पिक रूपमा, तराईमा उपलब्ध नवीकरणीय भूमिगत पानीको प्रभाकारी तथा दिगो यान्त्रिक पम्पमार्फत् वर्षैभरी सिंचाइ सुविधा प्राप्त गर्न सकिन्छ । परियोजना सम्बन्धमा विस्तृत जानकारी यहाँ प्राप्त गर्न सकिन्छः https://www.adb.org/projects/52130-001/main
नेपालमा एसियाली विकास बैंकको सम्पूर्ण लगानी नेपाल सरकारमार्फत् परिचालन हुन्छ र सबै परियोजनाहरू सरकारबाट स्वीकृतिको प्रक्रिया पूरा गरेर मात्र अघि बढ्छन् । एडिबीका कार्यक्रमहरुको सञ्चालन राष्ट्रिय साझेदारीका निश्चित ढाँचाको आधारमा निर्देशित हुन्छन् जसले सम्बद्घ राष्ट्रको विकासका प्राथमिकताहरू तथा मानिसहरुको आवश्यकताहरूलाई सुनिश्चित गरेको हुन्छ ।
एडिबीले आफ्नो निर्णय प्रक्रियामा परियोजनाको प्राविधिक तथा आर्थिक सम्भाव्यता, वातावरणीय दिगोपना र सामाजिक प्रभावजस्ता गहन विषयहरूबारे सघन र विस्तृत अध्ययन गरेर मात्र लगानी सुनिश्चित गर्दछ । यदि परियोजनाका सम्बन्धमा र नेपालमा एडिबीको गतिविधिहरूका बारेमा यहाँलाई थप जानकारी अथवा स्पष्टता आवश्यक छ भने कृपया निसंकोच हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
आभारसहित,
नेपाल आवासीय नियोग, एसियाली विकास बैंक
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया