अर्थ / बाणिज्य

स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अर्बौंको दायित्व थपियाे : अर्थमन्त्री महत

इकागज |
असार २५, २०८० सोमबार १४:२३ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अर्बौंको दायित्व थपिएको बताएका छन् ।

नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अर्बौंको दायित्व थपिएको बताएका हुन् । स्रोत सुनिश्चित भएका बहुवर्षीय आयोजनाहरूको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफू मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको जिकिर गरे ।


उनले यसअघिका दिनमा सुरु गरिएका आयोजनाहरूलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठूलो चाप देखिएको धारणा राखे ।

अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी वर्षको बजेटमा देखिएको जिकिर गरे । उनले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताए ।​

उनले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताए ।


Author

थप समाचार
x