अर्थ / बाणिज्य

मोरङमा ६५ प्रतिशत रोपाइँ

इकागज |
असार २८, २०८० बिहीबार १३:३४ बजे

 बेलबारी- असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ ।    
 ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले बताए ।    
    
 जिल्लाको १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ९० प्रतिशत रापाइँ भएको छ, कटहरी गाँउपालिका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा ७० प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई गाउँपालिका, लेटाङ नगरपालिका, सुन्दरहरँैचा नगरपालिकामा ६० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बूढीगङ्गा गाउँपालिकामा ५० प्रतिशत धान रोपाइँ भएको उनको भनाइ थियो ।    
    
समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उल्लेख गर्दै प्रमुख सिंहले केही दिनदेखि लगातार पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको बताए ।    
 जिल्लामा धेरै मात्रामा रञ्जीत, राम, बिबी एघार, स्वर्णलगायत धान लगाउने गरिएको उक्त केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको उक्त केन्दले जनाएको छ ।  



Author

थप समाचार
x