जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा
काठमाडौँ- भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् ।
कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आईतवारदेखि रेल सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर सुरुवात गरेका हुन् । रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । उनले जयनगर बिजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताए । उनले रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुधार हुने विश्वास लिएको बताए ।
मन्त्री ज्वालाले बर्दिवासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको जिकिर गरे । उनले निजगढदेखि काठमाडौंसम्मको डिपिआर तयारी भएको भन्दै निर्माणका लागि सरकार छलफलमा रहेको बताए ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन सुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एक पटक रेल सञ्चालन गरिने जानकारी दिए । उनले दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट बिजलपुरा जनकपुर क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने बताए । उनले अब रेल्वे कम्पनी सधैं घाटा नाफाको समाचार भन्दा पनि दीर्घकालीन सेवा विस्तार गरि कम्पनी आफ्नो क्षमतामा चल्नसक्ने बनाउने बताए ।
उनले कम्पनीले यो क्षेत्रमा आवश्यकतालाई हेरेर आगामी दिनमा रेल थप गर्ने प्रतिवद्धता जनाए । उनले त्यसका लागि कम्पनीले योजना बनाएर अघि बढेको बताए ।
कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भए पनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो ।
जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन/हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया