अर्थ / बाणिज्य

निगमले इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने

स्वचालित प्रणाली भएसँगै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घट्ने

इकागज |
असार ३१, २०८० आइतबार १९:१ बजे

काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ । निगमले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको जनाएको हो ।

स्वचालित प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए । स्वचालित प्रणाली भएसँगै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ ।


मरासिनीले आइतबार मध्यरातिदेखि पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मट्टीतेल समान ४/४ रुपैयाँ मूल्य घट्ने र ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्ने जानकारी दिए । उनले स्वचालित मूल्य प्रणाली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने बताए ।

त्यस्तै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले भारतीय आयल कर्पोरेसनको सम्पूर्ण ऋण भुक्तानी गरिसकेको र सरकारको केही ऋण तिर्न बाँकी रहेको बताए । उनले अहिले भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम नै रहेको जानकारी दिए । थानीले हवाई इन्धनमा भने स्वचालित प्रणाली लागू नहुने र सञ्चालक समितिबाटै मूल्य निर्धारण हुने बताए ।

इण्डियन आयल कर्पोरेशनसँग नियमित रूपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुने निगमले जनाएको छ । 


Author

थप समाचार
x