अर्थ / बाणिज्य

निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

इकागज |
साउन १, २०८० सोमबार १४:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि  नियमित उडानमा आउने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एकेडब्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो । उक्त जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । अर्को न्यारोबडी ९एन–एकेएक्स जहाजको पनि बायाँ इन्जिनमा समस्या देखिएको छ ।
     
जहाजमा चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए । 'निगमका जहाज नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा जहाजको दायाँ इन्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र उक्त जहाज मर्मतपश्चात् आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ,' निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
     
त्यसैगरी अर्को जहाज ९एन–एकेएक्सको नियमित इन्सपेक्सन गर्दा बायाँ इञ्जिनको ‘हाई प्रेसर टर्विन ट्रेलिङ एज’ मा समस्या देखिएकाले ‘एप्रुभ मेनुअल’ र निर्माता कम्पनीको सुझावअनुसार १० साइकल मात्र उडान गर्न सकिने भएकाले उक्त जहाज ग्राउन्डडेड गरिएको र यथाशीघ्र इन्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले उल्लेख गरेको छ ।
     
अहिले देखिएको समस्याका बाबजुद यो जहाजले १० साइकल उडान भने गर्नसक्ने क्षमता थियो । त्यसमध्ये छ साइकल उडानपश्चात् इन्जिनको मर्मतमा जाने उडान (चार साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।
     
नियमित मर्मतसम्भार हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी ए ३२० जहाजमा एकै समयमा चरा ठोक्किएका कारण इन्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको निगमका प्रवक्ता पौडेलले बताए । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी कूल चार वटा जहाज छन् । रासस



Author

थप समाचार
x