अर्थ / बाणिज्य

सरकारले ल्याएको मिटरब्याजसम्बन्धी विधेयकप्रति पीडितहरू असन्तुष्ट

इकागज |
साउन २, २०८० मंगलबार १७:२ बजे

काठमाडौँ- ​मिटरब्याज पीडितहरूले सरकारले ल्याएको मिटरब्याज सम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पत्ति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरूलाई अपराधीहरूको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।


समितिले नयाँ कानुनले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहु महाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहे पनि अहिले साहु महाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए ।

उनले साहु महाजनसँग भएका कागजपत्रको छानबिन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारबाही हुनुपर्ने बताए ।

संघर्ष समितिले मंगलबार नै काठमाडौँमा प्रदर्शनसहित संसद् भवन घेराउ गरेका छन् । उनीहरूले नयाँ विधेयक मिटरब्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।


Author

थप समाचार
x