अर्थ / बाणिज्य

ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व संकलन

इकागज |
साउन ४, २०८० बिहीबार २०:५३ बजे

फाइल फोटो

पर्सा - जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा रु तीन करोड ४२ लाख ६५ हजार राजस्व संकलन गरेको हो । यो अघिल्लो आव २०७८/७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए । 


अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व संकलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९/८० मा राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक थापाको भनाइ छ । 

यस्तै आव २०७९/८० मा पर्सा जिल्लामा भएको तीन सय ४७ सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९२ जना गम्भीर घाइते भएका छन् । अघिल्लो आव २०७८/७९ मा दुई सय ६० सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो । 

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ६३ हजार दुई सय ३८ जनाको सहभागिता रहेको जनाएको छ । रासस
 


Author

थप समाचार
x