अर्थ / बाणिज्य

लमजुङमा बल्ल आधा राेपाईं, पानी पर्ने आशमा किसान

इकागज |
साउन ६, २०८० शनिबार ७:९ बजे

लमजुङ ।  साउनको पहिलो हप्ता बित्नै लाग्दासम्म लमजुङ जिल्लाभित्र करिब ६५ प्रतिशत मात्र रोपाईं भएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाईं सम्पन्न भएको हो। 


रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रँदा रोपाईं ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन्।

जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर, क्व्होंला सोथार र दोर्दीका केही ठाउँहरुमा धान रोपाई अझै बाँकी रहेको उनले बताए। रेग्मी भन्छन, 'वर्तमान समयमा पशु महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरु मारमा परेको र रोपाईं ढिला भएको हाे र यतिखेर पानी नपरेका कारण रोपेको धान खेत समेत सुक्ने अवस्थामा पुगेको छ ।' कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत वर्षभन्दा केही कम मात्रामा जिल्लामा धान खेती हुने प्रक्षेपण गरिएको उनले बताए।

कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ । असारको पहिलो दोश्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरेपछि समय मै बीउ राख्न नपाएकाले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ ।

विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केही सिमसार क्षेत्रहरुमा चेतै धान खेती समेत हुने गरेको छ।


Author

थप समाचार
x