बुटवलमा बहुतले पार्किङ भवन निर्माणका लागि सम्झौता
बुटवल - बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि आज सम्झौता भएको हो ।
पार्किङ भवन निर्माणका लागि उपमहानगर प्रमुख खेलराज पाण्डेय र नगरविकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे । पार्किङ भवन निर्माण योजनाका लागि रु ३० करोड ४० लाख अनुमान गरिएको छ । भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए ।
उनले पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने पार्किङ हट्ने बताए । बुटवल–९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भई प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको हो । लगानीको टुङ्गो लागिसकेकाले अब बाँकी काम सुरु गर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । बाँकी प्रक्रिया पूरा गरी निर्माणका लागि ठेक्का प्रक्रियामा जाने उनले बताए । साततले पार्किङ भवनमा एकसाथ करिब दुई सय हलुका सवारी पार्किङ गर्न सकिने उपमहानगरपालिकाका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया