अर्थ / बाणिज्य

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो

इकागज |
साउन ११, २०८० बिहीबार १६:३७ बजे

काठमाडाैं । भन्सार विभागका अनुसार गत आवमा रु एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । कूल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।    
    
 विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले रु नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ ।    
    
 सार्वजनिक विवरणानुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ ।    
    
 नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु ३० करोड ९० लाख ८१ हजार बराबर छ ।    
    
 यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ ।    
    
त्यस्तै रु नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोगाडो आयात भएको छ भने रु सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ ।   



Author

थप समाचार
x