अर्थ / बाणिज्य

बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरो

इकागज |
साउन १३, २०८० शनिबार १३:५७ बजे

बेनी । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो । 

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । 


धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताए । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उनले बताए ।  

ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ छ ।  उनले भने, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उनका अनुसार पहिरोबाट खसेको ढुंगाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् । 

करिब १५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, श्रीसले भने, “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।” 

पानी पर्दा गाडी नचल्ने र पैदलयात्रा गर्न पनि ढुंगा खसिरहने भएकाले जोखिम हुने गरेको उनको भनाइ छ ।

 

 


Author

थप समाचार
x