अर्थ / बाणिज्य

निर्माण व्यवसायीको आरोप : सरकारले नै हामीलाई लुट्यो

सरकारले तत्काल व्यवसायीको माग पूरा नगरे सांसद पद त्याग्छु : सांसद पूर्णबहादुर तामाङ

इकागज |
साउन १९, २०८० शुक्रबार १२:१० बजे

भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित । तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् ।

कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।


कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न गरे। उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताए । उनले निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभइ जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए । उनले छिटो काम सम्पन्न गर्नेकुरामा सबै निर्माण व्यवसायीहरू लाग्नुपर्ने बताए । उनले लामो ग्याप गरेर भुक्तानी नरोक्न सरकारलाई सुझाव दिँदै उहाँले प्रत्येक महिनाको ग्याप राखेर रकम भुक्तानी गर्न आग्रह गरे ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको आरोप लगाए । उनले सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए । उनले निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी दिए । उनले सिंहदरबार, बालुवाटार, शितलनिवास निर्माण व्यवसायीहरूले नै निर्माण गरेको भन्दै निर्माण व्यवसायीहरूका माग पूरा गर्न आग्रह गरे ।

बिरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरूलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरे । उनले निर्माण व्यवसायीहरूलाई परेको दुःख सबैको दुःख भएकाले निर्माण व्यवसायलाई अघि बढाउन माग गरेको बताए । उनले सरकारले आफ्ना मागहरूको अन्देखा गरिएको आरोप लगाउँदै सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीहरूका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताए । उनले आन्दोलन गरेको ६ दिन भइसक्दासमेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने चेतावनी दिए । उनले देशभर रोलर, एक्सभेटरहरू सडक बन्द गर्नेगरी तेस्र्याएर बिरोधमा उत्रिने चेतावनी दिए । उनले सरकारले निर्माण व्यवसायीहरूका माग पूरा गरेपछि मात्रै निर्माणका कामहरू अघि बढ्ने बताए ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गनुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपनि माग सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । उनले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिवद्धता जनाएपनि सोअनुसार कार्यान्वयन गर्न नसकेको गुनासो गरे । उनले अघिल्ला सरकारले गल्ती गरेका हुन् भनेर गल्ती नसच्याइकन वर्तमान सरकार पन्छिन नपाउने बताए । उनले देश विकासका लागि सरकार सच्चन आवश्यक रहेको भन्दै बजेट दिन नसक्ने आयोजनाहरू खारेज हुनुपर्ने माग राखे ।

निर्माण व्यवसायीहरूले बजेट बिनाका आयोजनाहरू खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुष्ठ म्याद थप गर्नुपर्ने बताए ।


Author

थप समाचार
x