अर्थ / बाणिज्य

सरकारले ऋण लिएर भए पनि हाम्रो पैसा दिनुपर्छ : अध्यक्ष सिंह

इकागज |
साउन २१, २०८० आइतबार १५:१७ बजे

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्तिपछि अध्यक्ष सिंहले यस्तो प्रतिक्रिया दिएका​ दिएका हुन् ।

आइतबार अध्यक्ष सिंहले अर्थमन्त्री डा. महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताए । उनले सरकारले निर्माण कार्य सकेका आयोजनाको सरकारबाट पाउनु पर्ने भुक्तानी तत्काल व्यवस्था गर्नु पर्ने जिकिर गरे । उनले सरकारले ऋण उठाएर, अनुदान मागेर, वैदेशिक ऋण लिएर वा र आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानीको सुनिश्चिता गर्नु पर्ने बताए ।


अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सरकारले नसक्ने अर्थमन्त्रीले स्वीकार गर्न राम्रो भएको बताए । उनले स्वीकार गरेर मात्रै नहुने भन्दै विगतको सरकारले गरेको कमजोरीको अपनत्व लिँदै भुक्तानीको व्यवस्था गर्नु पर्ने जिम्मेवारी अर्थमन्त्रीको भएको जिकिर गरे ।

अर्थमन्त्रीले निर्माण व्यवसायीहरूलाई निर्माण कार्य सम्पन्न भएर पाउनु पर्ने भुक्तानी पाउने तालिका बनाएर भए पनि विश्वास दिलाउनु पर्ने उनकाे भनाइ छ । उनले निर्माण व्यवसायीहरूले बारम्बार सरकारसँग भुक्तानी पाउन पनि सडक आन्दोलन गर्नु पर्ने आवस्था ल्याउन नहुने उल्लेख गरे ।

अध्यक्ष सिंहले भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूलाई खारेज गर्न माग गरे । उनले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने बताए । उनले निर्माण व्यसायीहरूलाई समाप्त गरेर निर्माण व्यवसायी मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने बताए । उनले निर्माण उद्योग चलायमान नहुँदा अहिले अर्थतन्त्रमा संकुचन आएको भनाइ राखे ।


Author

थप समाचार
x