अर्थ / बाणिज्य

अडिटर्स एसोसियसनले हिसाबकिताब राख्न नजान्नेलाई सिकाउने

इकागज |
साउन २१, २०८० आइतबार १६:१० बजे

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सामान्य हिसाब किताबसमेत राख्न नसक्नेहरुलाई  लक्षित गरी नेपाल अडिटर्स एसोसिएसन (अडान) ले प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद् (सीटीईभीटी) सँग मिलेर अडानले काम गर्न थालेकोमा खुसी व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. महतले अडानका यस्ता कार्यमा सरकारबाट भरपूर सहयोग हुने बताए ।


‘देशमा केही सम्भावना छैन भन्ने नकारात्मक भावना हटाई हामीसँग भएका अवसरहरुलाई उपयोग गरी सकारात्मक भावना बढाउन म सबैमा आव्हान गर्दछु,’ अडान स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने ।

कार्यक्रममा अडानका अध्यक्ष केदारनाथ पौडेलले सीटीईभीटीसँग अडानलाई व्यावसायिक लेखापालको छोटो अवधिको तालिम कार्यक्रम गर्न स्वीकृति प्राप्त भएको जानकारी गराएपछि अर्थमन्त्रीले खुशी व्यक्त गरेका हुन् ।

अध्यक्ष पौडेलले वर्तमान अवस्थामा अडिटरहरुले भोगिरहेका जल्दाबल्दा समस्या, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नयाँ बन्ने ऐनमा प्रादेशिक संरचनासहित रजिष्टर्ड अडिटर्सका सम्बन्धमा स्पष्ट समान बिभेदरहित व्यवस्था हुनुपर्ने लगायतका मुद्दा समाधानका लागि सरकारसँग आग्रह गरे ।

अडानले आफ्नो १८ औं स्थापना दिवसमा देशव्यापी रुपमा मनाएको छ । साप्ताहिका रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको जानकारी अडानले दिएको छ । मुलुकको आर्थिक क्षेत्रमा देखापरोका समस्याहरु, लेखा व्यवसायीले झेल्नु परेका विभिन्न समस्याहरुका  बिषयमा गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग, सहकार्य लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो ।

कार्यक्रममा तीनवटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । करका दरमा वारम्वार हुने परिवर्तनले लगानीमा परेको जोखिम,  साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमान, वर्तमान अवस्था र आगामी कार्य र पछिल्लो आर्थिक स्थिति र मौद्रीक नीतिको ब्यवस्थाबारे कार्यपत्र प्रस्तुत भए ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, आईक्यानका अध्यक्ष सुजन कुमार काफ्ले र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रो.डा.श्री पुष्पराज सहभागी थिए ।

यसरी गरी करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा परेको जोखिमका विषयमा कर विज्ञ शेषमणि दाहाल, साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमान, वर्तमान अवस्था र आगामी कार्य विषयमा एकाउन्टिड. बोर्डका सदस्य अरुण कुमार राउत र लेखा बिशेषज्ञ प्रवीणराज काफ्ले र मौद्रिक नीतिको व्यवस्था विषयमा राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र माथि नेपाल उद्योग बाणिज्य महासंघको कर तथा राजश्व परामर्श समितिका संयोजक  अम्बिकाप्रसाद पौडेल, कर विज्ञ तथा कर्पोरेट लयर तिलक बिक्रम पाण्डे, कर बिज्ञ शैलेन्द्र उप्रेती, आईक्यान तथा एकाउन्टीङ्ग बोर्डका पूर्ब अध्यक्ष महेश खनाल, अडानका संस्थापक अध्यक्ष कमल खेरल, नेपाल उद्योग बाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका अध्यक्ष नरेश लाल श्रेष्ठ, नेपाल उद्योग परिसंघको राष्ट्रिय परिषद सदस्य छाँया शर्मा, राजनीतिक अर्थशास्त्री डा. हरी रोका, आईक्यानका पूर्व अध्यक्ष मदन कृष्ण शर्मा, नेपाल उद्योग परिसंघका सदस्य अनल राज भट्टराईले टिप्पणी गरेका थिए ।


Author

थप समाचार
x