प्राधिकरण हाकिमको आलोचना गर्दा सिम्रिक एयरको उडानमै रोक
काठमाडौँ- नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई हिसाबकिताब गर्न सात दिनको म्याद दियो— यही साउन २१ गते ।
प्राधिकरणले दिएको निर्धारित अवधि नसकिँदै र औपचारिक जानकारी नै नदिई हिजोदेखि उडानमा प्रतिबन्ध लगाएको मिडियाबाजी गर्यो । सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाएको औपचारिक जानकारी प्राधिकरणले अहिलेसम्म पनि दिएको छैन ।
सिम्रिक एयरले विज्ञप्ति जारी गरी प्राधिकरणले प्रेषण गरेको पत्रको अवधि अगावै बदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढंगले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी आफ्नो संस्थाको गरिमामा आँच पुर्याउने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गराएकोमा खण्डन गरेको छ ।
कम्पनीले सेवा उपभोग गरेबापतको रकम प्राधिकरणलाई क्रमशः बुझाउँदै आएको र यी साउन २१ गतेको पत्र प्राधिकरणको वार्षिक खाताबन्दीका क्रममा देखिन आएको छुटफुट रकम जनाएको छ ।
‘सो छुटफुट रकमका सम्बन्धमा उक्त रकम यस कम्पनीको उडान विवरण, हिसाबसँग रुजु भई मेल खाएमा भुक्तानी गर्ने र नभएमा सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने प्रक्रिया एवं व्यवहारमा रहिआएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षमा पनि पत्रमा उल्लेख भएअनुसारको विभिन्न स्थानको खातावही २०८०/४/२४ गते मात्र उपलब्ध भएको र हिसाब मिलानको क्रममै रहेकोमा लुक्ला विमानस्थलको हिसाब यकिन भई सोबमोजिमको छुट रकम भुक्तान भइसकेको र ताप्लेजुङ विमानस्थलको हकमा हिसाब सच्याउन निवेदन गरिएको जानकारी गराउँदछौं ।’
सिम्रिक एयरले काठमाडौँको हकमा भने उडान संख्या बढी हुने भएकाले हिसाब मिलानकै क्रममा रहेको, रुजु एवं मिलान हुनासथ भुक्तानी गर्नुपर्ने भएमा भुक्तानी गर्न प्रतिबद्ध र सक्षम रहेको जानकारी दिएको छ । प्राधिकरणले सिम्रिक एयरले भुक्तानी दिन नसकेको, वित्तीय रूपमा सबल नभएको भन्दै विभिन्न नियमावली देखाएर उडान रोकेको जनाएको छ ।
विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न बहानामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने र यो व्यवसायमा आबद्ध व्यवसायीहरूको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले पटक–पटक बिनाकारण दुःख दिँदै आएको विज्ञप्तिमा छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणको यस्ता हर्कत तथा बेथितिका सम्बन्धमा वायुसेवा सञ्चालक संघ, नेपालको अध्यक्षका हैसियतले आवाज उठाएको हुनाले व्यक्तिगत रूपमै लक्षित गरी अध्यक्ष क्याप्टेन रामेश्वर थापा आबद्ध संस्था सिम्रिक एयरको गरिमाप्रति भ्रम सिर्जना गर्न खोजिएको नियत प्रस्ट देखिन्छ ।’
सिम्रिक एयर लिमिटेड विगत २१ वर्षदेखि नेपालको कानुनअनुसार दर्ता भई लिनुपर्ने अनुमति लिई अग्रणी हेलिकप्टर सेवा प्रदायक संस्था हो । यो कम्पनीले विगत २१ वर्षको दौरानमा विभिन्न दैवी प्रकोप, आपतकालीन लगायत भौगोलिक विकटता भएको स्थानमा उद्धार एवं राहतको कार्य गरी सुरक्षित सेवा दिँदै आएको छ ।
सिम्रिक एयरले प्राधिकरण ऐन र नियमावली पालना गरी निजलाई तिर्न बुझाउनु पर्ने रकम र नेपाल सरकारलई नियमानुसार बुझाउनुपर्ने रकम बुझाउँदै आएको जनाएको छ । भविष्यमा पनि यसको निरन्तरता दिनेमा आफू प्रतिबद्ध रहेको र वित्तीय एवं अन्य सम्पूर्ण आधारमा सबल रहेको जनाउँदै सेवामा सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
गैरकानुनी तवरले सेवा प्रदायक कम्पनीको उडानमा एकाएक किन रोक लगाएको भनी इकागजले प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौला र सूचना अधिकारी एवं उपप्रबन्धक ज्ञानेन्द्र भूललाई पटक–पटक सोध्ने प्रयास गरेको थियो । उनीहरू दुवै जना सम्पर्कमा आउन चाहेनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया