आन्तरिक राजस्व बढाउने नीति सरकारको छ : अर्थमन्त्री महत
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताए ।
आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे । ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ । यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैं आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ?’ उनले प्रश्न गरे ।
चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने समेत उनले बताए । गत वर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ । ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ । उनीहरूले कर तिर्न पनि सक्छन् । उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।
अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्त मात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, बिस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको विश्वास छ । अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्नेमा उनले जोड दिए ।
अर्थमन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाव दिए । ‘कर तिर्नुपर्ने भए पनि विभिन्न बहाना बनाएर करको दायरामा नआएकाहरूलाई छुट दिनु हुँदैन, यसो गर्न दियो भने अरू करदाताहरू पनि भाग्न सक्छन्,’ उनले भने, ‘हाम्रोमा सानोतिनोलाई लछारपछार पार्ने, तर जो अनेक चलखेल गर्छ, उसलाई के गर्ने हो या होइन भन्ने छ । करको दायरामा ल्याउने हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया