अर्थ / बाणिज्य

नेको इन्स्योरेन्स र पेट्रोलियम ढुवानीकर्ताबीच सम्झौता

इकागज |
भदौ ३, २०८० आइतबार २०:८ बजे

फाइल तस्बिर

काठमाडौँ- पेट्रोलियम पदार्थ ढुवानीकर्ताहरूको प्रतिनिधिमूलक संस्था पेट्रोलियम व्यवसायी संघ नेपाल र नेको इन्स्योरेन्सी लिमिटेडबीच पेट्रोलियम पदार्थ ढुवानीकर्ताहरूको ट्रान्जिट बीमासम्बन्धी सम्झौता भएको छ ।

पेट्रोलियम पदार्थ ढुवानीका क्रममा कुनै भवितव्य परी पेट्रोलियम पदार्थमा भएको क्षतिको भडताल गर्ने बीमा नीति ट्रान्जिट बीमा हो । यो बीमाले व्यापारिक तथा व्यक्तिगत रूपमा भएका क्षतिको शोधभर्ना गरिदिन्छ । संघले एक विज्ञप्ति जारी गरी देशभरका डिपोहरूबाट पेट्रोलियमको ढुवानी गर्दा गन्तव्यसम्मका लागि सम्भावित क्षतिको ट्रान्जिट बीमा गराउनुपर्ने जनाएको छ । 


संघका अनुसार निगमको डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक चलान अनुसार मूल्य अभिवृद्धि कर बिजकसहितको बीमालेख नेको इन्स्योरेन्सबाट प्रत्यक्ष जारी गर्नेछ । 

पेट्रोलियम पदार्थ ढुवानी गर्दा ट्यांकर दुर्घटना भई पेट्रोलियम पदार्थमा हुने क्षतिको जोखिम बहन गर्नका लागि लागू गरिएको ट्रान्जिट बीमाले प्रत्यक्ष रुपमा व्यवसायीहरूलाई लाभ हुने संघले जनाएको छ । 

उक्त सम्झौताअनुसार गरिने बीमा नियमनकारी निकायद्वारा जारी भएको सामुद्रिक बीमादर निर्देशिका अनुरूप हुने पनि संघका कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्ता र महासचिव आत्मराम थापाले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा छ । 

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियन आबद्ध व्यवसायीहरू विभाजित भएपछि संघले यस्तो बीमामा मूल्य अभिवृद्धि कर बिजकलाई अनिवार्य गराएको हो । विगत आठ वर्षदेखि एसोसियनमा अध्यक्ष रहेका लिलेन्द्र प्रधानले व्यसायीको हितमा काम गर्न नसकेपछि छुट्टै संघ गठन गर्नुपरेको संघले जनाएको छ । 


 


Author

थप समाचार
x