माडीमा नारायणगढ रोटरीको सोलार सिँचाइ आयोजना
माडी- रोटरी क्लब अफ नारायणगढले माडीको अम्रौलीमा सिँचाइ आयोजना सुरु गरेको छ । एक करोड ३६ लाख १० हजार ४२५ रुपैयाँको लागतमा आयोजना निर्माण गर्न लागिएको हो । आकाशे पानीको भरमा खेती गर्दै आएका माडी नगरपालिका वडा नम्बर-४ को अम्रौली र बिराचीका कृषकको लागि सोलारमा आधारित बोरिङ स्थापना गर्न लागिएको हो ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो र क्लबका अध्यक्ष भोला लामिछानेले शिलान्यास गरेका थिए । लामिछानेले एक वर्षभित्र आयोजना सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिने बताए । करिब ६६ बिगाहा जग्गामा सिँचाइ गराउन लागिएको हो । आयोजनाका लागि रोटरी डिष्ट्रिक्ट ११६० अन्तर्गतको आयरल्यान्डका सात वटा क्लबले सहयोग गरेका छन् । यसका लागि बेलायतमा बस्दै आएका विनोद कर्माचार्यले सहजीकरण गरेका थिए ।
मेयर महतोले विपन्न गाउँमा रोटरीले परोपकारी काम गरेको भन्दै रोटरीको अभियानको प्रशंसा गरिन् । उनले नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गरिन् । रोटरी क्लब डिष्ट्रिक्ट २५९२ नेपाल भुटानका एसिस्टेण्ट गर्भनर दिनुप बरालले विश्वभरका रोटरीले उठाएको पैसाबाट बनेको ग्लोबल बजेटबाट रोटरीले सामाजिक काम गर्दै आएको बताए । यो संस्था अन्य गैर सरकारी निकाय भन्दा फरक रहेको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले स्वार्थभन्दा माथि सेवा भन्ने रोटरीको उद्देश्यलाई आत्मसात गर्दै नारायणगढ रोटरीले सामाजिक विकासको लागि नेतृत्वदायी भूमिका खेलेको बताए ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गुणेश्वर महतो , सचिव सेवन पन्तले सिँचाइ आयोजना बारे जानकारी गराउँदै खेतीयोग्य जमिन धेरै भएको तर सिँचाइ नभएको कारण अम्रौलीमा बोरिङ राख्न लागेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया