अर्थ / बाणिज्य

प्रधानमन्त्रीको फेरि आश्वासन: तातोपानी नाका पूर्ण रुपमा खोल्छु

इकागज |
भदौ ८, २०८० शुक्रबार १६:६ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकवासीलाई पूर्ण रुपमा तातोपानी नाका खोल्ने आश्वासन फेरि दिएका छन् । यसअघि पटकपटक उनले यो नाका खोल्ने आश्वासन दिए पनि कार्यान्वयन हुन सकेको थिएन । 

सांसद माधव सापकोटासहितका सिन्धुपाल्चोकका जनप्रतिनिधिको टोलीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल–चीनबीचको एक मात्र स्थल मार्ग तातोपानी नाका पूर्ण रुपले खुलाउन उनले आश्वासन दिएका हुन् । यसअघि प्रचण्डले धेरैपटक यस्ता आश्वासन दिदैं आएका थिए । नेपाल हिमालय सीमापार बाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुसँग उनले यसअघि यस्ता आश्वासन दिएका थिए ।


शुक्रबार तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोवर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर सांसद माधवसहितको टोली बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताए । ‘सिन्धुपाल्चोकका लागि यसअघि पनि ध्यान दिएकै छु, नाका सञ्चालन, सडक स्तरोन्नति र मानसरोवर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।’ उनले भने ।

बालुवाटार पुगेको सांसद सापकोटासहितको टोलीले विभिन्न पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। ‘सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरोदेखि लिपिङसम्मको करिब ३० किलोमिटर सरड स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवत जावत गर्ने सहमति भएको सन्दर्भमा सो रुट प्रयोग गरी मानसरोबर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएका छौं,’ सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद माधव सापकोटाले भने, ‘प्रधानमन्त्रीज्यूले यसका लागि विशेष पहल गर्ने प्रतिबद्धता दिनुभएको छ ।’

यो नाका २०७२ को भूँइचालोपछि अस्थिर रुपमा चलिरहेको छ । दैनिक डेढ करोड रुपैयाँ राजस्व संकलन गर्ने तातोपानी नाका पूर्ण रुपमा सञ्चालन नहुँदा व्यापारीहरु मर्कामा रहेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत (होमबहादुर)ले बताए ।

यो नाका सञ्चालन हुँदा सीमा गाउँ लिपिङ बजारमा मात्रै अबौंको व्यापारिक कारोबार हुने गर्दथ्यो । अहिले त्यो ठप्प छ । ‘नाका पूर्ण रुपमा सञ्चालन नहुँदा व्यापारीहरु पलायन हुनुपरेको छ,’ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले भने, ‘अधिकांश व्यवसायीहरु ऋणमा डुब्नुपरेको अवस्था छ । कति व्यवसायीहरु विदेश पलायन भए ।’ यो नाकाबाट सामान बोकेर जीवन गुजारा गर्नेहरु पनि बेरोजगार अवस्थामा रहेको उनले बताए ।

सांसद सापकोटा नेतृत्वको सो टोलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी सोही व्यहोराको ध्यानाकर्षणपत्र बुझाएको छ । गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यागमन कार्यालय निर्माण एवं व्यवस्थित गर्ने विषयलाई जोड दिइएको छ भने परराष्ट्रमन्त्रीलाई नाकाको पूर्ववत सञ्चालन र मानसरोबर तिर्थयात्राका लागि रुटका लागि कुटनीतिक पहल दिइदिन ध्यानाकर्षण गराइएको छ । 

‘सडक भूकम्प र बाढीका कारण नराम्ररी बिग्रिएको छ । जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ,’ नेपाल ट्रक कन्टेरढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले भने, ‘चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन ।’ उनले अहिले प्रधानमन्त्रीले दिएको आश्वासन पूरा हुने विश्वास रहेको सुनाए ।

भूकम्प र कोभिडका कारण लामो समयसम्म बन्द र त्यसपछि चीनबाट एकतर्फी मात्रै आयात हुँदै आएको नेपाल चीन व्यापारिक तातोपानी नाका गत वैशाख १८ गतेदेखि दुइतर्फी सञ्चालनमा छ । नेपालतर्फ अध्यागमन कार्यालय व्यवस्थापन गरिएको छ ।

सापकोटासँगै ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँ पालिकाका पूर्व अध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिना, कार्यकारिणी सदस्य भूपेन्द्र भण्डारी हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, उपाध्यक्ष रामहरी कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा लिका अध्यक्ष अर्जुन सापकोटा,  महासचिव कृष्ण क्षेत्री,  तातोपानी पर्यटन व्यबसायी संघका  शेर बहादुर मगर, ध्रुब थापालगायत बालुवाटार पुगेका थिए ।  


Author

थप समाचार
x