अर्थ / बाणिज्य

आजदेखि लागू हुने गरी बागमती प्रदेशका सवारी साधनको भाडामा वृद्धि

इकागज |
भदौ ८, २०८० शुक्रबार २१:१३ बजे

फाइल तस्बिर

बागमती- पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै बागमती प्रदेशअन्तर्गत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ ।


आजदेखि लागू हुने गरी जारी गरिएको भाडादर वृद्धिमा काठमाडौँ उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर आठ दशमलव तीन प्रतिशतले वृद्धि भएको बताइएको छ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा अर्थात उपत्यका बाहेकको स्थानमा चल्ने सवारी साधनको भाडादर पाँच दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार अब काठमाडौँ उपत्यकामा पाँच किमीसम्मको न्यूनतम भाडादर रु एकले बढेर रु १९ कायम गरिएको सो मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उपत्यकामा १० किमीसम्मका लागि रु २६, १५ किमीसम्मको रु ३१, २० किमीसम्मको रु ३५ र २० किमीभन्दा माथिका लागि रु ४० भाडादर कायम गरिएको छ । 

मन्त्रालयको सूचनामा काठमाडाैँ उपत्यका बाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ ।

यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर तीन दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको सूचनामा जनाइएको छ ।


Author

थप समाचार
x