अर्थ / बाणिज्य

चिनियाँ खोप ल्याउन निजी क्षेत्रलाई खुला भएन

सिनोभ्याकको उत्पादनलाई प्रयोग अनुमतिको तयारी

इकागज |
जेठ ११, २०७८ मंगलबार १५:५४ बजे

काठमाडौँ : औषधी व्यवस्था विभागले तीन प्रकारका खोप निजी क्षेत्रलाई समेत ल्याएर बेच्न अनुमति दिएको छ । तर चिनियाँ खोप उत्पादकले भने यो अनुमति पाएका छैनन् । चिनियाँ नेशनल फर्मास्युटिकलस ग्रुप (सिनोफार्म)ले उत्पादन गरेको ८ लाख डोज भेरोसेल खोप नेपालले चीन सरकारबाट अनुदानमा ल्याएर उपयोग गरिसकेको छ । 

सिनोफार्मकै उत्पादन नेपालमा ल्याएर बिक्री गर्न चिनियाँ दूतावास हुँदै एउटा प्रस्ताव आएको थियो तर त्यसको स्थानीय एजेन्ट को हो भन्ने पत्ता नलागेकोले अहिलेसम्म बेच्न स्वीकृति नदिइएको औषधी व्यवस्था विभागका सूचना अधिकृत सन्तोष केसीले बताए । 


औषधी व्यवस्था विभागले भारतीय खोप उत्पादक कम्पनीहरू सिरम इन्स्टिच्यूटद्वारा उत्पादीत कोभीशिल्ड र भारत बायोटेकको कोभ्याक्सिन ल्याएर बेच्न निजी कम्पनीहरूलाई अनुमति दिइसकेको छ । त्यस्तै रूसको गामालिया सेन्टरले उत्पादन गरेको स्पुतनिक फाइभ खोप पनि ल्याएर बेच्न अनुमति दिएको तीन साता बितिसक्दा पनि कसैले खोप आयात गरेर बेच्ने विश्वासिलो आधार नदेखिएको औषधी व्यवस्था विभागले जनाएको छ । 

यसैबीच सरकारले सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको खोपलाई नेपालमा प्रयोग अनुमति दिन लागेको जनाएको छ । सिनोभ्याक बायोटकले उत्पादन गरेको खोप प्रयोग अनुमतिसँगै उक्त कम्पनीहरूका स्थानीय एजेन्ट खुलाएर आयात गर्न चाहेमा अनुमति दिन सकिने विभागले उल्लेख गरेको छ । 

अहिले विश्वभर कोभिड विरुद्ध  भारतका दुई, चीनका उल्लेखित दुई कम्पनीसहित क्यान सिनो बायो इंक, रूसको गामालिया सेन्टर तथा अमेरिकाका फाइजर, मोडर्ना तथा जोन्सन एण्ड जोन्सन तथा बेलायतको अक्सफोर्ड, अष्ट्राजेनिकाले कोभिड–१९ विरुद्धको खोप व्यवसायिक उत्पादन गरिरहेका छन् । अक्सफोर्ड अष्ट्राजेनिकाले अनुसन्धान र विकास गरेको खोप भारतमा सिरम इन्स्टिच्यूटले व्यवसायिक उत्पादन गरेको हो । 

कोभिड–१९ विरुद्धको खोपमा बौद्धिक सम्पत्तिको अधिकार छुट दिएर व्यावसायिक उत्पादन बढाएर सरल र सहज रूपमा आम जनतालाई पुर्‍याउनुपर्नेछ । अमेरिकाले अहिले खोपको व्यावसायिक उत्पादनमा बौद्धिक सम्पत्ति छुट दिनुपर्ने अभियानलाई समर्थन गरेको छ । रूसको गामालिया सेन्टरले विकास गरेको स्पुतनिक फाइभ खोप आयात समेतको अनुमति पाएको लोमस फर्मास्युटीकल्सले प्रविधिसमेत आयात गरी उक्त खोप नेपालमै विकास गर्न तयारी समेत गरिरहेको जनाएको छ । 

केही दिन अघि बालुवाटारमा पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट पनि खोप आयात गर्न सरकारले पहल गरिरहेको बताएका थिए । तर सिरम इन्स्टिच्यूटसँग सम्झौता भएको खोप समेत शुरुवातमा कमिसन विवाद तथा पछि भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण रोकिएपछि सरकारी स्तरबाट उत्पादक कम्पनीसँग सीधै खरिद गर्ने (गभर्मेन्ट टु कम्पनी) विधिमा खोप आयात गर्न सिरम इन्स्टीच्यूट, भारत बायोटेक, रूसी कम्पनी लगायतसँग कोटेशन माग गरेको स्वास्थ्य सेवा विभाग व्यस्थापन महाशाखाका भीमसिंह तिंकरीले बताएका छन् । 


Author

थप समाचार
x