तयारी पोसाक उद्योगी चौधरीको अनुभव : ‘स्वदेशमै केही गर्न सकिन्छ’
फाइल फोटो
भरतपुर - हातमा सीप भएपछि स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भरतपुर–७ वनकट्टाका दीपक चौधरी । उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आइरहेका छन् । साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे ।
“उद्योगमा सट, पाइन्ट, टिसर्ट, जिन्सको पाइन्ट बनाइने गरिएको छ । पहिला उद्योगमा पाँच छ प्रकारका कपडा बनाउने गर्दथे”, उनले भने, “अहिले २५ देखि ३० प्रकारका कपडा बनाउने गरेको छु । उद्योगमा बनाएको कपडा हेटौँडा, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, भैरहवालगायतका सहरमा बिक्री गर्ने गरिएको छ ।”
सानैदेखि कुनै पनि काममा आफै नेतृत्वदायी भूमिका खेल्न रुचाउने उनले ३७ वर्षको उमेरमा उद्योग खोले । साथीभाइसँग मिलेर उद्योग सञ्चालन गरेका चौधरी उद्योगको पनि निर्देशक छन् । उनले भने, “साथीभाइ सबै विदेश गए, मैले नेपालमा केही नयाँ गर्छु भन्ने सोच लिएर अगाडि बढेँ ।” आफ्नो मेहनत र परिश्रमले दिनप्रतिदिन सफलताको सिढी चढेको उनको अनुभव छ ।
विसं २०७२ कात्तिक २ गते स्थापना भएको उद्योगबाट सुरुवाती चरणमा सबै खर्च कटाएर एक लाख पचास हजार रुपैयाँ बचत हुन्थ्यो । अहिले सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म बचत हुने गरेको उनी बताउँछन् । कक्षा ८ मा पढ्दापढ्दै उनले घरको आम्दानीको स्रोत केही नभएपछि भारत गएर गार्मेन्टको काम गर्न थाले । भारतमा ६ वर्षसम्म काम गरेपछि काठमाडौँ आएर उनले चार वर्ष काम गरे । ‘१० वर्ष सिकेको सीप आफ्नै ठाउँमा आएर प्रयोग गर्दा सफलता मिल्दै गयो’, उनले भने । ४० लाखबाट सुरु गरेको उनको उद्योगमा अहिले डेढ करोड लगानी भइसकेको छ ।
भारतमा काम गर्दादेखि नै नेपालमा गएर केही काम गर्छु भन्ने सोच बनाएको उनी बताउँछन् । अहिले उनको दैनिकी उद्योग व्यवस्थापन र सञ्चालनमा बित्ने गरेको छ । उनले उद्योग खोल्दा धेरै चुनौतीको सामना गर्नुपरेको उनी बताउँछन् । ‘उद्योग सञ्चालन गरिराख्दा धेरै चुनौती आए । कहिलेकाहीँ त पेसा छाडौँ कि जस्तो पनि भयो तर निरन्तरको कामले सफलता मिल्दै गयो’,उनले भने ।’ “चार वर्षसम्म स्वदेशी बजार बुझेर, कस्तो सामान मान्छेले खोजी गरिरहेका छन् र कस्तो सामान बनाउँदा उपयुक्त हुन्छ भन्ने योजनामा समय खर्च गरेको उनले बताए । ” यसरी लामो समयसम्म बजार बुझ्दा आफैले उद्योग खोलेर चलाउन सक्छु भन्ने सोच आएपछि अगाडि बढेको विगतको स्मरण उनले गरे ।
“पुख्र्यौली सम्पत्ति भए पनि आफैँले केही नयाँ गर्छु भन्ने सोचका साथ आफैँले ऋण लिएर उद्योगको सुरुआत गरेँ,उनले भने, “ऋण तिर्नुपर्ने भएकाले पनि मेहनत गर्न सिकायो ।” मानिसमा मेहनत र लगनशीलता भयो भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सुझाव उनले युवालाई दिएका छन् । उनले भने, “कोसिस गरे स्वदेशमा जे पनि गर्न सकिन्छ, विदेशीनु पर्दैन । तर मान्छेमा मेहनत र लगनशीलता हुनुपर्छ ।” रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया