अर्थ / बाणिज्य

मेलम्ची आयोजनाको याङ्ग्री–लार्केको टनेल निर्माणसँगै सुरुङमार्ग पनि बनाउने प्रस्ताव

इकागज |
भदौ २१, २०८० बिहीबार १२:५९ बजे

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानदेखि पाँचपोखरी थाङपाल  गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । याङग्री र लार्केको पानी काठमाडौं ल्याइने सुरुङ निर्माण गर्दा यातायात आवतजावतका लागिसमेत निर्माण गर्न प्रस्ताव गरिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले यस्तो प्रस्ताव गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत याङ्री र याङग्रीको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौं ल्याइने तयारी छ । यसका लागि टनेल निर्माण गर्दा यातायात प्रयोजनका लागिसमेत सुरुङमार्ग निर्माण गर्न शेर्पाले प्रस्ताव गरेका हुन् ।


यो सुरुङ ९ किलोमिटर लामो हुनेछ । खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट यातायात आवतजावतका लागि सहज हुने गरी टनेलको डिजाइन गर्न प्रस्ताव गरेको हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले इकागजलाई जानकारी दिए ।

एकैपटक काम गर्दा सजिलो हुने तथा आर्थिक भारसमेत धेरै नपर्ने हुने हुँदा यो प्रस्ताव गरिएको हो । ‘सुरुङ मार्ग निर्माण हुँदा पर्यटक बढ्ने मात्रै नभई यो भेगलाई अर्थतन्त्रमा अब्बल बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुनेछ,’ अध्यक्ष शेर्पाले भने, ‘सिधै सुरुङमार्गबाट सवारी आवतजावत गराउँदा समयको पनि बचत हुने र यस भेगको पर्यटनले गति लिनेछ ।’ उनले पर्यटनले गति लिएसँगै गाउँको विकासले फड्को मार्नेसमेत दाबी गरे । ‘यसले हेलम्बु र पाँचपोखरी दुवैलाई फाइदा गर्छ ।’ उनले भने । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी ह्योल्मो लामासमेत सयमा सहमत भएको उनले सुनाए । मेलम्ची खानेपानी विकास समितिको बैठकले यसलाई स्वीकार गर्ने तयारी गरेको छ ।

यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए । यसका लागि शेर्पाले स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, स्थानीयसँग छलफलसमेत गरिसकेका छन् ।
 


Author

थप समाचार
x