अर्थ / बाणिज्य

सुन तस्करी प्रकरण : एअरपोर्ट भन्सारका कर्मचारी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी

इकागज |
भदौ २४, २०८० आइतबार १७:५३ बजे

काठमाडौं । सुन तस्करी प्रकरणमा अनावश्यक दुःख दिएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । आइतबार उनीहरुले सांकेतिक विरोध गर्दै ३ घण्टा पेन डाउनसमेत गरे । उनीहरुले सुन तस्करी प्रकरणमा अनुसन्धानको बहानामा नेपाल प्रहरीलगायतका निकायले दुःख दिएको भन्दै काम बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

भन्सारका सबै कर्मचरी आन्दोलित भएको एक कर्मचारीले जनाएका छन् । कर्मचारीहरुले यसको विरोधस्वरुप आन्दोलनको तालिकासमेत सार्वजनिक गरेका हुन् । सार्वजनिक तालिकाअनुसार भदौ २५ र २६  गते कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने कार्यक्रम रहेको छ ।


उनीहरुले भदौ २७ गतेभित्रै आफ्ना माग सम्बोधन हुनुपर्ने बताएका छन् । यदी नभए यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित गर्ने उनीहरुके चेतावनी रहेको छ ।

‘यसबाट हुन सक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्नेछ,’ मागपत्रमा भनिएको छ,‘यस सम्वन्धमा बिरोधका थप कार्यक्रमहरु क्रमशः प्रकाशन गरिनेछ ।’

विमानस्थलबाट तस्करी गर्दै ल्याइएको करिब ६१ किलो सुन बरामद गरिएको थियो । सोबारे भन्सारका कर्मचारीहरुमाथि अनुसन्धान तथा छानविनका लागि सोधपुछ गरिएकोमा उनीहरुले अनावश्यक दुःख दिएको बताउँदै आएका छन् ।


Author

थप समाचार
x