देवचुलीमा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नापी सुरु
देवचुली । देवचुली नगरपालिका वडा नम्बर - १६ र १७ मा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नाप सुरु गरिएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नापी सुरु गरिएको हो । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी र राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले संयुक्त रुपमा जग्गा नापीको उद्घाटन गरेका हुन् ।
जग्गा नापीकाे उद्वघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले भूमिकाे समस्या समाधान गर्न पालिका सधैँ जनताको पक्षमा रहने बताए । आफूहरुको पहिलो एजेन्डा नै सुकुम्बासी समस्या समाधान गर्ने रहेकाले कार्यपालिकाको टिम एकरुपता भइ काम गरिरहेको उनले बताए । पालिकामा जग्गाका विविध खालका जग्गा समस्या रहेको र त्यसकाे समाधानका लागि आयाेगकाे मापदण्डअनुसार पालिका लाग्ने बताए ।भूमिकाे समस्या समाधान गर्दै भूमिहीनलाई पुर्जाकाे मालिक बनाउने काममा सबैकाे सहयोग आवश्यक रहेको उनले बताए ।
सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसाेबासीकाे समस्या समाधान एक पटकका लागि गर्ने याेजना छ, यसैलाई आधारमानी सबै वडामा जतिसक्दो चाँडै नापीकाे काम सक्दै पुर्जा वितरणका लागि पालिकाले पूर्ण रुपमा सहजीकरण र आफ्नो भूमिका अनुसारको काम गर्ने नगर प्रमुख न्यौपानेले बताए । देवचुली- ४ बाट सुरु गरिएको नापी वडा ५, ६ हुँदै १६ र १७ मा सुरु गरिएको र बाँकी वडामा पनि छिट्टै सुरु गरिने उनले बताए ।
जग्गा नापका लागि आवश्यक जनशक्ति पालिकाले थप गरेको उनले भनाइ छ । जग्गा नाप जाँच गर्दा पछिसम्म वडामा फरक नपर्ने गरि नक्सा कायम गर्न नापी टोलीलाई उनले आग्रह गरे ।
कार्यक्रममा बाेल्दै आयोग जिल्ला अध्यक्ष खरेलले एक चरणकाे काम तथ्यांक संकलन, प्रविष्टिकरण सकिएको र अब प्रमाणीकरणको लागि जग्गा नाप जाँचकाे काम सुरु भएको बताए । नापजाँच गर्ने क्रममा केहि समस्या परे सहजीकरण समितिबाट हल गर्ने र यहाँ हुन नसके पालिका, जिल्लाबाट समस्या समाधान गरि पुर्जा वितरणकाे काम सम्पन्न गरि भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न सबै लाग्नुपर्ने उनले बताए । विधि, प्रक्रिया मिलाउन समय लाग्ने भएकाले धैर्य गर्न उनले सबैलाई आग्रह समेत गरे ।
देवचुली नगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागि आयोगलाई निकै सहयोग गरेको उनले बताए । राष्ट्रिय भूमि आयोगले छुटेका भुमिहीनहरुका समस्याका लागि अन्तिम पटक आवेदन माग गरेकाले सम्बन्धितले वडा मार्फत आयोगमा निवेदन दिन सकिने उनले जानकारी समेत गराए ।
देवचुली- १७ का वडा अध्यक्ष गणेशप्रसाद चालिसेले कयौं पुस्ता भूमिहिनकै रुपमा रहेकोले अब ती समस्या समाधान गर्न लागिएको बताए । वडामा ६५० जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा प्राप्तिका लागि आवेदन दिएको उनले बताए । नापीकाे काममा देखिने हरेक समस्या समाधान गर्दै नापीकाे काम सक्न सबैकाे सहयाेगकाे आवश्यकता रहेको उनले बताए ।
वडाले सबै सहजीकरण गर्ने तर पुर्जा दिनेकाममा कुनै बिलम्ब हुन नहुने र आयाेगले साेही अनुसार काम गर्नुपर्ने उनले बताए ।
लामो समयसम्म सुकुम्बासी भएर बस्न बाध्य भएको र अब लालपुर्जा प्राप्त गर्नेमा आश पलाएको देवचुली- १७ का स्थानीय टीकाराम काफ्लेले बताए । लालपुर्जा प्राप्त नगर्दासम्म सरोकारवालालाई निरन्तर खबरदारी गर्ने र आवश्यक कामका लागि सहयोग गर्ने उनले बताए ।
देवचुली- १६ मा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता देवचुली- १६ का वडा अध्यक्ष केशवराज गौतमको अध्यक्षतामा भएको थियो भने देवचुली- १७ बरटाँडीमा भएको कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष गणेशप्रसाद चालिसेको अध्यक्षता रहेको थियो । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत स्थानीयको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया