अर्थ / बाणिज्य

चाडपर्वलक्षित अनुगमन तीव्र, समयमै ढक तराजु जाँच नगरे जरिवाना

इकागज |
असोज ३, २०८० बुधबार १३:२८ बजे

काभ्रे- नजिकिँदो चाड दसैं तिहार लक्षित गरी बजारमा ढक तराजुको अनुगमन तीव्र पारिएको छ । उपभोक्ता नठगिऊन् भन्ने उद्धेश्यका साथ सामग्री तौलने यन्त्रको नियमित जाँच तथा नवीकरण सेवा सुरु गरिएको हो ।

पहिलो चरणमा उद्योग बाणिज्य संघ काभ्रेको समन्वयमा नाप तौल विभाग तथा गुणस्तर कार्यालय बालाजुले चाड पर्व लक्षित गरि जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा नाप्ने तथा तौलने यन्त्रको नियमित जाँच तथा नवीकरण गरिएको छ । भदौ ३१ गतेबाट बनेपा,पनौतीबाट सुरु गरिएको यो सेवा आज साँगा र नालामा पुगेको छ । 


अनुगमनका क्रममा तोकिएभन्दा कम तौल रहेका ढक तराजुमा निश्चित तौल बनाइदिनेसमेत गरिएको नाप तौल विभाग तथा गुणस्तर कार्यालय बालाजुले जनाएको छ । कुनै पनि प्रकारका नाप्ने वा तौलने यन्त्र खरिद गरेपछि साधारण व्यवसायीको २ वर्षमा र अन्यको हकमा प्रत्येक वर्ष जाँच पास गराउनुपर्ने नियम छ । तर, यस्ता नियमबारे व्यवसायी जानकार नहुँदा समस्या उत्पन्न हुने गरेको नाप तौल विभाग तथा गुणस्तर कार्यालय बालाजुका सहायक निरीक्षक पवन चन्द बताउँछन् ।

‘कुनै पनि व्यवसायीले नयाँ मेसिन खरिद गरेको ३५ दिनभित्र नाप तौल विभाग तथा गुणस्तर कार्यालय बालाजुमा दर्ताका लागि आवेदन गर्नुपर्ने हुन्छ,’ अनुगमनका क्रममा पनौतिमा भेटिएका चन्दले भने, ‘तर कतिपय व्यवसायीलाई यस्ता नियमबारे थाहा नभएकाले दर्ता प्रक्रियालाई अगाडि बढाएको पाइएन ।’ उनले कार्यालयमा जनशक्ति अभावका कारण पनि नियमित अनुगमन हुन नसक्दा व्यवसायी जानकार नहुने र उपभोक्ता ठगिने गरेको स्वीकार गरे । नियमअनुसार नगर्ने व्यवसायीलार्ई एक हजारदेखि ५ हजारसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

‘नियमित रुपमा व्यवसायिक नाप तौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा नवीकरण सेवा दिन पन हो,’ उनी भन्छन्, ‘जनशक्ति नभएकाले यातायात को पहुँच भएका मार्गहरुमा मात्र यो सेवा सुचारु गरिएको छ ।’ 

कार्यालयको कार्य क्षेत्र काठमाण्डौं लगाएत भक्तपुर,ललितपुर,धादिङ,नुवाकोट,रसुवा काभ्रे सिन्धुपाल्चोक र दोलखा छ । कार्यालयले अहिले सम्बन्धित जिल्लाका उद्योग बाणिज्य संघसँग समन्वय गरेर काम अगाडि बढाइरहेको उनले जानकारी दिए ।

काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पालान्चोकेका अनुसार नापतौल विभाग तथा गुणस्तर कार्यालयको जनशक्ति अभाव र व्यवसायीहरूले खरिद गरेको नाप्ने तौलने यन्त्र बोकेर बालाजु माछा पोखरी नै पुग्न पर्ने भएकोले व्यवसायीहरूलाई समस्या भएको हो । ‘माछापोखरीसम्म तौलने मेसिन बोकेर लैजानुपर्ने झण्झट र बढ्दो खर्चका कारण व्यवसायीले समयमै आफ्ना सामग्री जाँच गर्न नपाएका हुन्,’ उपाध्यक्ष कैलाशले भने, ‘कतिपय व्यवसायीलाई नियम थाहा छैन, त्यसैले जरिवानामा पनि पर्नुभएको छ ।’ उनलाई व्यवसायी तथा उपभोक्तालाई सचेत गर्न तथा जानकारी प्रदान गर्न जिल्लाका टोल टोलमा यस्ता अभियान सञ्चालन गरिरहेको बताए । उनले पहिलो चरणमा बनेपा र पनौतीमा सञ्चालन गरेको सेवाबाट ४ सय बढीको यन्त्र परीक्षण गरिएका जानकारी दिए ।


Author

थप समाचार
x