द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित हुँदैन : मन्त्री ज्वाला
फाइल तस्बिर
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नरहने बताएका छन् । बुधबार संविधान दिवसको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।
मन्त्री ज्वालाले बिहान र बेलुका अफिस समयमा यात्रुको चाप धेरै हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताका लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको जानकारी दिए । उनले द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने पनि उल्लेख गरे । उनले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु गरेको छ त्यही उत्साह निरन्तर रूपमा सधैंका निम्ति रहने गरी यो कामलाई अगाडि बढाउने बताए । उनले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिबद्धता जनाए ।
बस सेवालाई निरन्तरता र विस्तार दुवै गर्ने बताउँदै मन्त्री ज्वालाले सरकारले सञ्चालन गरेको द्रुत बसमा यात्रुहरूलाई कहाँ समस्या भयो ? कहाँ ट्राफिक समस्या भयो । सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने समय करिब दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्याउने योजना रहेको जिकिर गरे । उनले सरकार धेरै चुनौतीहरूका बीचमा काम गरिरहे पनि बस सेवा सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि विस्तार गर्दै जाने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया