अर्थ / बाणिज्य

अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत

निर्धारित समयको ३० मिनेटमा बैठक सुरु हुन नसके सभापतिले स्थगित गर्नसक्ने

इकागज |
असोज १२, २०८० शुक्रबार १४:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थ समितिले समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो ।

बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि,२०८० सर्वसम्मतले पारित भएको बताए । उनले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताए । उनले बैठकको कार्यसूचीबारे ४८ घण्टाअगावै समितिका सदस्यलाई जानकारी गाराइसक्नुपर्ने व्यवस्था रहेको पनि जिकिर गरे ।


सभापति चालिसेले बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले बताए । उनले समितिका ५ भन्दा बढी बैठकमा नपाउने सदस्यहरूलाई स्पष्टीकरण सोधिने बताए । उनले सांसदहरूले दिएका रायहरूलाई समेटेर कार्यविधि बनाउन सचिवालयलाई निर्देशन दिए ।

समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुने लगायत विषय राखिएका छन् । त्यस्तै, विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिबेगर बैठक नसकिउञ्जेल छोडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुने लगायतका विषय राखिएका छन् ।

 

 


Author

थप समाचार
x