'मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्छ'
काठमाडौँ- सांसदहरूले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले सरकारले अर्थतन्त्रमा सुधार आएको दाबी गरे पनि अवस्थामा सुधार भएको नदेखिएकाले अर्थतन्त्रका अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा सांसद बिष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा खुल्ला बहस गर्नुपर्ने बेला आएको बताए । अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपाय निकाल्ने गरी छलफल चलाउनुपर्ने उनको भनाइ छ । अर्थतन्त्र मन्दीको अवस्थालाई सरकारले स्वीकार गर्नुपर्ने उनले बताए । पोडेलले अर्थतन्त्रको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै आपत्ति जनाए ।
त्यस्तै सांसद डा स्वर्णिम वाग्लेले बजेटको कार्यान्वयनको अवस्थामा बारेमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताए । अर्थतन्त्रका सूचकलाई सूक्ष्म ढंगले हेरेर यसको अवस्थाको मूल्यांकन गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै सांसद ज्ञानेन्द्र शाहीले भन्सारमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा निर्यात बढाएर अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने देखिएको बताए ।
बैठकमा अर्थमन्त्रालयका सचिव कृष्णहरी पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे लगायतले बजेटले लिएका नीति कार्यान्वयनका लागि अर्थले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए । उनीहरूले बजेट कार्यान्वयनमा देखिएका समस्या पहिचान गरेर सुधार गर्नुपर्ने धारणा पनि राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया